खेल


८ वर्षपछि जोडिए शिक्षा र युवा तथा खेलकुद मन्त्रालय, मन्त्री सस्मितका यस्ता चुनौती

८ वर्षपछि जोडिए शिक्षा र युवा तथा खेलकुद मन्त्रालय, मन्त्री सस्मितका यस्ता चुनौती

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १३:४, काठमाडौँ

आठ वर्षपछि शिक्षा र युवा तथा खेलकुद मन्त्रालय फेरि एक भएका छन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमत ल्याएपछि बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार नयाँ मन्त्रिपरिषद् गठन भएको छ।

नयाँ बनेको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले सम्हाल्ने भएका छन्। 

मन्त्री पोखरेलले युवा तथा खेलकुदसँगै शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। 

रास्वपाको मन्त्रालय संख्या कम गर्ने नीतिअनुसार अब युवा तथा खेलकुद मन्त्रालय र शिक्षा मन्त्रालय एकै हुनेछ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय एकै थिए। वि.सं. २०७४ सालमा सरकार पुनर्संरचना हुँदा शिक्षा र खेलकुद मन्त्रालय अलग भएका थिए।

युवाको विकास, रोजगारी, नेतृत्व र खेलकुद क्षेत्रलाई प्राथमिकता दिन सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई अलग गरेको थियो। 

नीति निर्माणमा विशेष रुचि राख्ने सस्मितलाई रास्वपाले शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएपछि नेपाली खेलकुद क्षेत्रले केही परिवर्तनको आशा गरेको छ।

सस्मितका लागि युवा तथा खेलकुदमा अहिले तत्कालको मुख्य चुनौती भनेको निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद मिलाउनु हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबार मात्रै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको छ। 

यस्तोमा राखेपबाट निलम्बित एन्फालाई फिफा र एएफसीको निलम्बनबाट बचाउनु मुख्य चुनौती रहेको छ। फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेप स्वीकार नगर्ने भएकाले नेपाली फुटबलमाथि प्रतिबन्धको खतरा बढीरहेको छ। 

यही बीचमा एन्फाले आजका लागि घोषित चुनाव तेस्रो पटक स्थगित गरेको छ। 

सस्मितसँग नेपाली खेलकुदको अर्को मुख्य चुनौती भनेको कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्नु हो। यसअघि पटक–पटक मिति सर्दै आएको १०औँ खेलकुद आयोजना गर्नुपर्ने मुख्य दायित्व अब पोखरेलको काँधमा आएको छ। 

यस्तै नेपाल ओलम्पिक कमिटि र राखेपबीच बिग्रीएको सम्बन्धलाई सुधार गर्नु पनि पोखरेलमाथि अर्को चुनौती हो। 

३ वर्षदेखि हुन नसकेको शहिद स्मारक ए डिभिजन आयोजना, राष्ट्रिय खेल भलिबलको आफ्नै कोर्ट बनाउने दायित्व पनि अब पोखरेलमा नै आइपुगेको छ। 

राष्ट्रिय खेल घोषणा भएपछि युवा तथा खेलकुद मन्त्रालयले ११ जना मन्त्री पाए पनि भलिबलले आफ्नै स्तरीय कोर्ट पाउनसकेको छैन। राष्ट्रिय खेल घोषणा भएपछि १२औँ मन्त्रीका रुपमा मन्त्रालय सम्हाल्न आउन लागेका पोखरेलले नेपाली खेलकुदलाई अब कसरी अघि बढाउँछन्, त्यो भने हेर्न बाँकी नै छ।

प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौ ५ बाट निर्वाचित सस्मितले नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, राप्रपा नेता कमल थापालाई पराजित गर्दै निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad