ओपनर शंकर रानाको उत्कृष्ट ब्याटिङमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ।
बिहीबार भएको खेलमा बागमतीलाई ७ विकेटले पराजित गर्दै पुलिस क्लबले दोस्रो जित दर्ता गरेको हो।
जितसँगै पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। २ खेलमा जित र एक खेलमा हार भोगेको पुलिस क्लब ४ अंकमा शीर्ष स्थानमा छ। समान अंक भएको त्रिभुवन आर्मी क्लब भने दोस्रो स्थानमा छ।
दोस्रो हार भोगेको बागमती प्रदेश भने २ अंकमा तालिकाको छैटौँ स्थानमा छ।
बागमतीले दिएको २ सय ६६ रनको लक्ष्य पुलिस क्लबले ४४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
पुलिस क्लबका लागि ओपनर शंकर रानाले सर्वाधिक १ सय १६ रनको योगदान दिए। उनले १ सय २८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे।
अर्का ओपनर दिनेश खरेलले ७५ बलमा ८ चौका ३ छक्का सहयोगमा ७० रन बनाए। कप्तान आरिफ शेख ४३ र रासिद खान १० रनमा अविजित रहे। दिलसाद अलीले ८ रन बनाए।
बागमतीका लागि सन्दीप लामिछाने, रिजन ढकाल र सुवास खत्रीले समान एक विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ४ बल अगावै २ सय ६५ रन बनाउँदा अलआउट हुन पुग्यो।
बागमतीका लागि पवन थापाले ७९ र इशान पाण्डेले ७० रन बनाए। आशुतोष घिरैया २२, उत्तम मगर २१, शुभ कंसाकार १४ र कप्तान सन्दीप लामिछानेले १३ रन थपे।
पुलिस क्लबका रासिद खान र दिनेश खरेलले समान ३ विकेट लिए। करण केसीले २ तथा ललित राजवंशीले एक विकेट लिए।
Shares

प्रतिक्रिया