अखिल नेपाल फुटबल संघ (एन्फा) र शहिद स्मारक क्लबहरुबीच भएको सम्झौता कार्यान्वयको माग गर्दै क्लबहरूले गरेको रिले अनसन स्थगित भएको छ।
क्लबहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रिले अनसन स्थगित गरेको जानकारी दिएका हुन्। चैत २ गतेदेखि सुरु गरेको रिले अनसन आज नवौँ दिनमा आएर स्थगित भएको हो।
एन्फाले राष्ट्रिय लिग तथा शहिद स्मारक महिला लिग स्थगित गरेका कारण सहभागी खेलाडीहरूको व्यवस्थापन, बिदाई तथा क्लबहरूलाई भएको आर्थिक क्षतिको समुचित व्यवस्थापन गर्न क्लबका पदाधिकारीहरू व्यस्त रहनुपर्ने अवस्था सिर्जना भएको छ।
विद्यमान परिस्थितीलाई मध्यनजर गर्दै रिले अनसन स्थगित गरिएको र भविष्यमा थप सशक्त र प्रभावकारी ढंगले एन्फा र क्लबबीच भएको ‘होम एण्ड अवे’ प्रणाली सम्बन्धी सम्पूर्ण सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका छन्।
रिले अनसनमा ए डिभिजनका ८, बी डिभिजनका ११ र सी डिभिजनका ३ गरि २२ क्लबहरु सहभागी थिए।
क्लबहरूले एन्फाविरुद्ध रिले अनसन जारी राख्दा एन्फा नेतृत्व भने उनीहरूको मागलाई वेवास्ता गर्दै निर्वाचनको अन्तिम तयारीमा जुटेको छ।
एन्फाको अर्ली इलेक्सन १३ गते झापामा हुँदैछ।
निर्वाचन रोक्न एन्फालाई पटक पटक पत्राचार गरेको राष्ट्रिय खेलकुद परिषद्ले आज पनि पत्र काटेको छ।


Shares

प्रतिक्रिया