अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रको शक्ति सङ्घर्षले नेपाली फुटबल इतिहासकै सबैभन्दा जटिल मोडमा आइपुगेको छ।
एकातिर संस्थापन पक्ष जसरी पनि ‘अर्ली इलेक्सन’ (छिटो निर्वाचन) गराउने दाउमा छ भने अर्कोतिर असन्तुष्ट पक्ष आन्दोलनमा उत्रिएको छ। मुख्य सरोकारवालाहरू तीनतिर फर्किएका कारण नेपाली फुटबल नै अन्तर्राष्ट्रिय निलम्बनको जोखिममा धकेलिएको छ।
पंकजविक्रम नेम्वाङ नेतृत्वको वर्तमान कार्यसमिति असन्तुष्ट पक्षको मागलाई बेवास्ता गर्दै निर्वाचनको तयारीमा जुटेको छ। तर, नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै विभिन्न २२ क्लबका प्रतिनिधिहरू अहिले रिले अनशनमा छन्। ए डिभिजनका ८, बी डिभिजनका ११ र सी डिभिजनका ३ क्लबको सहभागिता रहेको यो अनसन आइतबार सातौँ दिनमा प्रवेश गरेको छ।
एन्फाका पूर्वअध्यक्ष तथा हिमालय शेर्पा क्लबका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा आफूहरू निर्वाचनको विरोधी नभएको तर विधिको शासन खोजेको बताउँछन्।
‘हामी अर्ली इलेक्सनको विपक्षमा होइनौँ, तर पहिले भएको सहमतिअनुसार फुटबल गतिविधि अगाडि बढाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनी भन्छन्।
संस्थापन पक्षले लिगको तयारी नगरी १३ वटा ‘ए’ डिभिजन क्लबलाई मात्र पत्राचार गरेकोमा पनि असन्तुष्ट पक्षको तीव्र आपत्ति छ।
पूर्वअध्यक्ष शेर्पाले फुटबल निलम्बनमा परे त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने चेतावनी दिए।
नेपालखबरसँग उनले भने, ‘निर्वाचनको हठका कारण फुटबल दुर्घटनामा परे वर्तमान एन्फा नै जिम्मेवार हुनेछ। इतिहासले उहाँहरूलाई कलंकित पदाधिकारीका रूपमा अंकित गर्नेछ।’
भिडिओमा हेर्नुहोस्– एन्फाका पूर्वअध्यक्ष तथा हिमालय शेर्पा क्लबका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासँग नेपालखबर ‘तत्कालै’ :

प्रतिक्रिया