अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदान बाहिरको राजनीतिले आजदेखि मैदान भित्र प्रवेश पाएको छ। पछिल्लो समय नेपाली फुटबल मैदानभित्र भन्दा पनि बाहिर सक्रिय थियो।
तर एन्फाले आइतबार एक विज्ञप्ति जारी गर्दै चैत १२ गते दशरथ रंगशालामा हङकङसँग हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको जानकारी दिएपछि मैदान बाहिरको खेल अब मैदानभित्र सरेको स्पष्ट देखिएको छ।
एन्फाले विज्ञप्ति जारी गर्दै राखेपले स्वीकृती नदिएकाले खेल स्थगित गर्नुपरेको उल्लेख गरेको छ।
राखेपसँग मैत्रीपूर्ण खेल सञ्चालनका लागि फागुन १० गते स्वीकृति मागेको बताएको छ। पुनः चैत्र ३ गते पत्रमार्फत रगंशालाको फ्लडलाइट, स्कोर बोर्ड र अन्य पूर्वाधारहरू खेलका लागि उपलब्ध गराइदिन पत्र पठाएको बताएको छ।
तर एन्फाको खेल मैदान तथा रगंशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेला सञ्चालनको स्वीकृति राखेपले नदिएकाले सो खेल स्थगित गरिएको एन्फाले जानकारी दिएको छ।
एन्फाको वर्तमान नेतृत्व अर्ली इलेक्सन गराइ छाड्ने तयारीमा अघि बढेको छ। तर राखेपले भने तहगत निर्वाचन गरेर मात्र निर्वाचन गर्न एन्फालाई पत्राचार गरेको थियो। आफ्नो आदेशलाई वेवास्ता गर्दै एकपक्षीय रुपमा एन्फा अघि बढेपछि खेल सञ्चालन गर्न राखेपले अनुमती नदिएको हो।
ठूला प्रतियोगिता आयोजना गर्न एन्फाको आफ्नै मैदान छैन। त्यसैले खेल सञ्चालनका लागि सरकारको मुख ताक्दै आउनुपर्ने बाध्यात्मक अवस्था छ। यस्तोमा त्रिपुरेश्वरको दशरथ रंगशाला राखेपले नदिएपछि एन्फाले खेल स्थगित गरेको हो।
यो सँगै अब नेपाली फुटबलको मैदान बाहिरको राजनीतिले औपचारिक रुपमा मैदानमा प्रवेश पाएको हो।
Shares

प्रतिक्रिया