राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि गरिएको सिफारिस विचाराधिन अवस्थामा राखेका छन्। चैत १ को मन्त्रिपरिषद बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक पदमा अर्यालको नाम सिफारिस गरेको थियो।
राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार सरकारको सिफारिस राष्ट्रपतिसमक्ष पेस भएपनि देशको राजनीतिक अवस्था र बाहिर भएको आलोचना समेतलाई ध्यानमा राखेर विचाराधिन अवस्थामा छ। राष्ट्रपति पौडेल अर्यालको सिफारिस रोक्ने पक्षमा नरहेको कुँवरले नेपालखबरलाई जानकारी दिए।
‘ओमप्रकाश अर्यालजी हाम्रै भाइ हुन्। उहाँको सिफारिसमा समस्या छैन। राष्ट्रपतिज्यूकोमा पेस भइसकेको छ। देशको राजनीतिक अवस्था र बाहिर भएको आलोचना समेतलाई ध्यानमा राखेर उहाँको सिफारिस एक दुई दिन विचाराधिन अवस्थामै बसेको हो,’ उनी भन्छन्, ‘उहाँलाई नियुक्त नगर्ने भन्ने छैन। यसो विचारका लागि बसेको जस्तो लाग्छ। २–४ दिन अरु रहला। होल्ड राख्दैमा नहुने कुरा छैन।’
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार निर्माणको गृहकार्यमा छ। गृहमन्त्री अर्यालको सचिवालय पनि चैत ११ गतेसम्म राष्ट्रपतिले नियुक्त गर्ने बताउँछ।
११ गते नियुक्तको तयारी हो भन्नेमा प्रश्नमा राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले भने, ‘११ गते वा भोलि–पर्सी हुन्छ भन्ने आधिकारिक जानकारी छैन। अब एक दुई दिन अरु रहला। उहाँलाई नियुक्त नगर्ने भन्ने होइन।’
चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण कार्यक्रम छ।
Shares

प्रतिक्रिया