खेल


सहिद स्मारक लिगमा बागमतीको विजयी सुरुवात

सहिद स्मारक लिगमा बागमतीको विजयी सुरुवात

नेपालखबर
चैत ५, २०८२ बिहिबार १३:५९, काठमाडौँ

सहिद स्मारक एन्फा महिला लिगमा आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब पोखरालाई पराजित गर्दै बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ। 

बिहीबार च्यासल खेल मैदानमा भएको पहिलो खेलमा बागमतीले पोखरालाई ५-४ गोलअन्तरले हराएको हो। एन्फा महिला लिगमा बागमती र पोखराबीचको खेल हाइ स्कोरिङ बन्न पुग्यो। 

रोमाञ्चक खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा बागमतीले पोखरामाथि दबाब बनाएको थियो। 

खेलको सातौँ मिनेटमा नै गीता श्रेष्ठको गोलमा पोखराले सुरुवाती अग्रता बनाएको थियो। नवौँ मिनेटमा अस्मिता मगरले गोल गर्दै बागमतीलाई खेलमा फर्काएकी थिइन्। 

दोस्रो हाफको तेस्रो मिनेटमा नै पोखराकी तुलसीकुमारी ओलीको हेडर गोलमा पोखराले अग्रता बनाएको थियो। तर ५२औँ मिनेटमा प्रजिता राईको गोलमा बागमती बराबरीमा आएको थियो। 

खेलको ६०औँ मिनेटमा दिक्षा रनपालको गोलमा बागमतीले पोखराविरुद्ध ३-२ को अग्रता बनायो। त्यसपछि ६८औँ मिनेटमा पोखराकी तुलसीको प्रहार बागमतीकी गोलरक्षकले पञ्च गर्दै जोगाए पनि त्यसकै रिवाउन्डमा वर्षा कुवँरको गोलमा पोखरा ३-३ को अवस्थामा आयो।  

खेलको ७०औँ मिनेटमा बागमतीकी अस्मिता मगरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउन सफल भइन्। यस्तै, ७६औँ मिनेटमा बागमतीकी अस्मिताको उत्कृष्ट क्रसलाई पोखराकी गोलरक्षकले नियन्त्रणमा लिँदा सन्तुलन गुमाएपछि दीक्षा रनपालले गोललाइनबाट बललाई पोस्टको जाली चुमाइन्। 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी दिक्षाको गोलमा बागमतीले पोखराविरुद्ध ५-३ को अग्रता बनायो। 

खेलको ८३औँ मिनेटमा पोखराले पेनाल्टी प्राप्त गर्‍यो। त्यो अवसरलाई पोखराकी कप्तान गीता श्रेष्ठले खेर जान दिइनन् र बागमतीसँगको गोलअन्तर कम गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad