खेल


एन्फा महिला लिग: उपाधि रक्षाको चुनौती एपीएफलाई, विदेशी खेलाडीले बलियो संकटा

आर्मीकी गोलरक्षकले चर्चब्वाइजको पोस्ट सम्हाल्ने, अमिसाको पुनरागमनको संकेत
एन्फा महिला लिग: उपाधि रक्षाको चुनौती एपीएफलाई, विदेशी खेलाडीले बलियो संकटा

फाइल तस्बिर


लक्ष्मी जि.सी
चैत ४, २०८२ बुधबार ७:३३, काठमाडौँ

सहिद स्मारक एन्फा महिला लिगमा विभागीय टोलीलाई चुनौती दिन अन्य क्लब पनि तयार देखिन थालेका छन्। 

महिला लिग बुधबारदेखि सुरु हुँदै छ। महिला लिग सुरु हुँदै गर्दा अधिकांश सहभागी टोलीको लक्ष्य उपाधि नै हो।

यद्यपि विभागीय टोलीको चुनौतीलाई सहजै पार गर्न उनीहरुलाई सहज भने पक्कै छैन। त्यसैले विभागीय क्लबहरुले लक्ष्य उपाधि नै रहँदा अन्य क्लब भने उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मंगलबार भएको पत्रकार सम्मेलनमा ५ टोलीका प्रशिक्षक र एक टोलीका टिम म्यानेजर सहभागी भए। बाँकी तिन टोलीका भने कोही पनि उपस्थित भएनन्। 

महिला लिगको अघिल्लो दिनसम्म लिगको ढाँचा, विजेता टोलीले पाउने पुरस्कार रकम, व्यक्तिगत उपाधि विजेताले पाउने रकमबारे अहिलेसम्म जानकारी छैन।  पत्रकार सम्मेलनमा पनि एन्फाका कोही पदाधिकारी उपस्थित भएनन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मुख्य गेटबाहिर ए, बी र सी डिभिजन क्लबका पदाधिकारीहरु रिले अनशन बसिरहेका छन्। सोही कारण एन्फाका कुनै पदाधिकारी पुगेका छैनन्। 

पूर्ण तयारीविना नै हुनलागेको लिगका लागि सहभागी क्लब भने उत्साहित छन्। अहिलेको समयमा नै खेल हुनु नै मुख्य कुरा रहेको महिला लिगमा सहभागी क्लबका प्रतिनिधिले बताए। 

खेलअघिको पत्रकार सम्मेलनमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, बागमती युथ क्लब, संकटा एफसी सहभागी भए। न्युरोड टिम एनआरटी, झापा एफसी र आरएस पोखरा अनुपस्थित रहे। 

एन्फाले यसअघि राप्ती एफसी क्लब पनि लिगमा सहभागी हुने भन्दै टाइसिट सार्वजनिक गरेको थियो। तर त्यसको केही दिनमा नै अन्य नौ क्लबले विरोध गरेको भन्दै राप्तीलाई हटाएर नयाँ खेल तालिका सार्वजनिक गर्यो। 

महिला लिगको अघिल्लो वरीयतालाई आधार मान्दै वालिङ नगरपालिकाले महिला लिग खेल्नुपर्ने थियो। तर वालिङले सहभागिता नजनाउने बताएपछि एन्फा आफैँले राप्तीलाई पत्र काट्दै लिगमा सहभागी हुन भनेको थियो। मनोमानी ढंगले अघि बढिरहेको एन्फाले पछि महिला लिगका ९ क्लबले विरोध जनाएको भन्दै आफैँले राप्तीलाई महिला लिगबाट बाहिर राख्ने निर्णय गर्यो। 

महिला लिगको अहिलेसम्मको संस्करणलाई हेर्ने हो भने तीन विभागीय टोली नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन्। महिला लिगमा एपीएफ फुटबल क्लब सर्वाधिक सफल क्लब हो। 

राष्ट्रिय टोलीको दोस्रो टिम मानिने एपीएफ यो पटक मैदानमा केही कमजोर देखिन सक्छ। नियमीत गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा, मिडफिल्डर प्रिती राई व्यावसायिक लिगका लागि देशबाहिर छन्। व्यावसायिक लिगका लागि बाहिर नै रहेकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा र सविता राना मगर चोटका कारण मैदान बाहिर छन्। 

यद्यपि एपीएफका मुख्य प्रशिक्षक जीवेश कुमार पाण्डेले आफूहरु उपाधिका लागि नै मैदान उत्रने बताएका छन्।

उनले भने, ‘हाम्रा १/२ जना खेलाडी घाइते छन् तर पनि टिमको तयारी राम्रो छ। हामी शारीरिक र मानसिक रुपमा तयार छौँ। हामी सधैँ विपक्षी टोली राम्रो होस् भन्ने चाहन्छौँ। यो पटक पनि हाम्रो लक्ष्य उपाधि नै हो।’ 

टोलीकी कप्तान अनिता बस्नेतले भने आफूहरुका लागि पहिलेको लिगजस्तो सहज भने नहुने बताएकी छिन्। लिगको तयारी राम्रो रहेको र अहिले विदेशी खेलाडीको सहभागिताले अन्य क्लब बलियो बन्दै आएकाले केही चुनौती रहेको उनले सुनाइन्। अहिलेसम्म सहभागी टोलीलाई हेर्ने हो भने विदेशी खेलाडीले भरिएको संकटा बलियो देखिएको उनको भनाइ छ। 

नेपाल पुलिस क्लबका सहायक प्रशिक्षक रविन श्रेष्ठले पनि आफूहरु उपाधिका लागि नै खेल्ने बताएका छन्।

उनले भने, ‘विभागीय टोली भएका कारण वर्षभरि प्रशिक्षण हुन्छ। यो पटक हामी उपाधिका लागि नै खेल्नेछौँ। उपाधिको अर्को विकल्प छैन हामीसँग।’

विगतका लिगलाई हेर्ने हो भने नयाँ सहभागी क्लब पनि प्रतिस्पर्धी हुँदै आएको रविन स्वीकार गर्छन्। उनले भने, ‘नयाँ टोली पनि प्रतिस्पर्धी हुदै आएका छन्। यसलाई हामीले स्वीकार गर्नुपर्छ।’

महिला लिगलाई रोमाञ्चक र प्रतिस्पर्धी बनाउन क्लबहरुले चार जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ। तर पुलिस क्लबले विदेशी खेलाडी अनुबन्ध नगर्ने सहायक प्रशिक्षक श्रेष्ठले बताए। यो पटक सविना चौधरी, बिर्सना चौधरी, मिना देउवा र सुस्मा तामाङले पुलिस क्लबबाट महिला लिग खेल्दै छन्। 

यो पटक आर्मीको गोलकिपिङ लाइन भने केही कमजोर देखिन सक्छ। आर्मीकी पहिलो रोजाइकी गोलरक्षक अञ्जना रामामगरले एपीएफको गोलपोष्ट सम्हाल्नेछिन्। 

अञ्जनाको विकल्पमा टोलीको गोलपोष्ट सम्हाल्ने लिला जोशीले चर्च ब्वाइज युनाइटेड क्लबको पोष्ट सम्हाल्नेछिन्। अञ्जना र लिला नहुँदा केही समस्या पर्न सके पनि त्यसलाई सुधार गर्दै लैजाने मुख्य प्रशिक्षक राजु तामाङ बताउँछन्। 

उनले भने, ‘गोल किपिङ लाइनलमा केही समस्या भए पनि त्यसलाई सुधार गर्दै लैजान्छौँ, लिगका लागि हाम्रा सबै खेलाडी छन्।’

नेपाली सेनाको सहायक सेनानीमा नाम निकालेपछि उनी अहिले सैन्य तालिकाका लागि मैदानबाहिर छिन्। यद्यपि महिला लिगमार्फत उनले फुटबलमा पुनरागमन गर्न सक्ने प्रशिक्षक तामाङले सुनाए। 

उनले भने, ‘अमिसा कार्कीलाई लिगका दौरान मैदानमा देख्न पाउने सम्भावना छ।’ 

तीन विभागीय टोलीलाई चुनौती दिन संकटा एफसी चार जना विदेशी खेलाडीलाई अनुबन्ध गरेर बलियो देखिएको छ। 

टोलीका प्रशिक्षक रविन्द्र शिखाकारले भने, ‘यो पटक संकटालाई दह्रिलो उपस्थिति गराउने गरेर आउँदै छौँ। चार जना विदेशी खेलाडी अनुबन्ध गरिसकेका छौँ। उमेर समूहका खेलाडीको साथले टोली बलियो छ।’

लिगको तयारीका लागि संकटाले १ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ। लिगका लागि संकटाले घानाबाट उमेर समूहका २, म्यान्मारबाट कप्तान विन र मोजाम्बिकबाट राष्ट्रिय खेल खेलिसकेकी खेलाडीलाई अनुबन्ध गरेको छ। 

प्रशिक्षक शिखाकारले भने, ‘लिगमा चुनौती भनेको विभागीय टोली नै हो। विभागीय टोलीलाई कडा टक्कार दिने दिन्छौँ। सुपर ५ भित्र रहने लक्ष्य हो। शीर्ष २/३ मा रहनेछौँ।’

महिला लिगमार्फत नै संकटाले सञ्चालन गरिरहेको तीन खेलाडीले डेब्यु गर्दै छन्। 

बागमती युथ क्लबका टिम म्यानेजर निराजन कार्कीले आफूले राम्रो खेल प्रस्तुत गर्ने बताएका छन्। लिगका लागि टोलीले १ महिना प्रशिक्षण गरेको उनले बताए। 

बिहीबार नेपाल पुलिस क्लबविरुद्ध खेल्दै चर्च ब्वाइज युनाइटेडले महिला लिगमा ‘डेब्यु’ गर्दै छ। 

चर्च ब्वाइजका प्रशिक्षक विक्रम महर्जनले भने, ‘विभागीय टोलीसँग खेल्न केही गाह्रो भए पनि कडा चुनौती दिने हो। खेलाडीहरु बाहिर भएकाले साथमा प्रशिक्षण हुन पाएको छैन तर कुरा भइरहेको छ। लिग अघि १–२ दिन टिममा तयारी गर्छौँ। विदेशी खेलाडी ल्याउने योजनामा छौँ।’ 

बुधबारबाट सुरु हुने महिला लिग सिंगल वा डबल राउन्ड रोबिनमा हुने हो। एन्फाले अहिलेसम्म औपचारिक जानकारी दिएको छ। एन्फाले पहिलो राउन्डको खेल तालिका मात्र सार्वजनिक गरेको छ। महिला लिगका सबै खेलहरु च्यासल मैदानमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad