अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकतर्फी रुपमा शहिद स्मारक ए डिभिजन लिगको मिति तोकेपछि क्लबहरु विरोधमा उत्रिएका छन्।
एन्फाले क्लबसँग छलफल नै नगरी चैत ३० गतेदेखि शहिद स्मारक ए डिभिजन लिग गर्ने घोषणा गरेपछि क्लबहरु विरोधमा उत्रिएका हुन्।
आन्दोलनमा ए डिभिजनका ८, बी डिभिजनका ११ र सी डिभिजनका ३ क्लबहरु छन्। क्लबहरु आन्दोलनमा उत्रिएपछि सोमबार नै एन्फा महासचिव किरण राईसहित ८ क्लबका प्रतिनिधिहरु वार्तामा बसेका थिए।
तर वार्ता असफल भएको र आफूहरुले रिले अनशन सुरु गरेको हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालखबरलाई जानकारी दिए।
उनले भने, ‘हाम्रो मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहन्छ, एन्फाले सहमतिविपरीत काम गरिरहेको छ।’
एन्फाले क्लबहरुसँग गरेको सम्झौताविपरीत एकपक्षीय रुपमा लिगको मिति तोकेपछि क्लबहरुले एन्फाको विरोध गर्दै धर्ना थालेका हुन्। ए डिभिजनका क्लबहरुबीच भएको सहमति कार्यान्वयन गर्न क्लबहरुले माग गरेका छन्। क्लबहरुले सात बुँदे माग अघि सारेका छन्।
मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले यसरी फुटबल नचल्ने बताएका छन्। फुटबल राम्रोसँग चलाउने हो भने खेलाडी, क्लब र एन्फाबी त्रिपक्षीय सहकार्य गरेर लिग खेल्ने वातावरण बनाउनुपर्ने बताए।

ए डिभिजन लिग नभएको १ हजार दिनभन्दा बढी भइसकेको छ। नेपाल फुटबल खेलाडी संघ र एन्फाबीच फागुन २६ गते भएको छलफलमा भने चैत ३० बाटै लिग गराउने सहमति भएको थियो।
एन्फाले ए डिभिजन लिगका लागि थ्रीस्टार र एपीएफबाहेक १३ ए डिभिजन क्लबलाई सहभागिताका लागि पत्र काटेको थियो।
थ्रीस्टारका उपाध्यक्ष जयकृष्ण श्रेष्ठले वार्ताका क्रममा एन्फाले खेलाडी संघसँगको सहमतिमा लिगको मिति तोकिएको बताएको उल्लेख गरे।
उनले भने, ‘एन्फा आफैँ नेपाली फुटबललाई प्रतिबन्ध लगाउने बाटोमा छ, एन्फाले क्लबहरुसँग गरेको सम्झौताअनुसार लिग गर्नुपर्यो। अहिले लिग नहुँदा १ सय ५० देखि ६० जना खेलाडीहरु विदेश गइसकेका छन्, केही रेस्टुरेन्टमा त कोही राइड सेयरिङ गर्दै छन्। क्यालेन्डरविना भाले कपजसरी लिग हुन्छ।’
उपाध्यक्ष श्रेष्ठले उच्च अदालतको फैसलाअनुसार ए डिभिजन खेल्न पाउनुपर्ने उल्लेख गरे।
यता ए डिभिजन लिग खेल्न भने एपीएफ फुटबल क्लब एन्फाको निर्णय पर्खिरहेको क्लबका टिम मेनेजर विजय केसी बताउँछन्।
एन्फाले लिगको मिति घोषणा गर्नु र क्लबहरु विरोधमा उत्रिएपछि फेरि एक पटक ए डिभिजन लिग अनिश्चित बनेको छ।
Shares

प्रतिक्रिया