इंग्ल्यान्डलाई पराजित गर्दै साविक विजेता भारत आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो। योसँगै भारत चौथो पटक फाइनल खेल्न लागेको छ।
सन् २००७ र २०२४ को विश्वकप विजेता भारतले सन् २०१४ मा भने उपविजेतामा चित्त बुझाएको थियो। सन् २०१६ र २०२२ मा भने भारत सेमिफाइनलबाटै बाहिरिएको थियो।
विश्वकपको सेमिफाइनलमा भारत र इंग्ल्यान्ड लगातार तेस्रो पटक भेट भएका हुन्। यसअघिको दुई भेटमा यी दुई टोलीले समान एक पटक नतिजा आफ्नो पक्षमा पार्दा विश्वकपको उपाधि पनि आफ्नो नाममा गरेका थिए।
भारतले इंग्ल्यान्डलाई लगातार दोस्रो पटक सेमिफाइनलमा पराजित गरेको हो। यसअघि सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा भएको विश्वकपको सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई ६८ रनले हराएको थियो।
त्यस्तै, सन् २०२२ को विश्वकपको सेमिफाइनलमा भने इंग्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो। सो संस्करणको उपाधि इंग्ल्यान्डले जितेको थियो।
भारतले अब उपाधिका लागि आइतबार न्यु जिल्यानडविरुद्ध खेल्नेछ। फाइनल खेल आइतबार साँझ सवा ७ बजे अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
भारतले दिएको २ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४६ रन मात्र बनाउन सक्यो। लगातार पाँच पटक सेमिफाइनल पुगेको इंग्ल्यान्ड तेस्रो पटक उपाधि दौडबाट बाहिरिएको हो।
यसअघि सन् २०१० र २०२२ को विश्वकप उपाधि उचालेको इंग्ल्यान्ड २०१६ मा भने उपाधि नजिक पुगेर पनि टाडिएको थियो। इंग्ल्यान्ड सन् २०२१ र २०२४ मा पनि सेमिफाइनलबाट बाहिरिएको थियो।
इंग्ल्यान्डका लागि जाकोब बेथेलले सर्वाधिक १ सय ५ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। ४८ बलमा ८ चौका र ७ छक्का सहयोगमा १ सय ५ रन बनाएका जाकोब रन आउट हुन पुगे।
२० बलमा ४ चौका र २ छक्का प्रहार गरेका विल ज्याक्स ३५ रन बनाउँदा अर्शदिप सिंहको बलमा क्याच आउट हुन पुगे। जस बटलर २५ रन बनाउँदा वरुण चक्रवतीको बलमा बोल्ड आउट भए। साम करनले १८ रन थपे। टोम बान्टोन १७ रनमा बोल्ड आउट भए।
भारतका लागि हार्दिक पाण्ड्याले २ विकेट लिए। अर्शदिप सिंह, जसप्रित बुमराह, वरुण चक्रवती र अक्षर पटेलले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५३ रनको विशाल योगफल तयार पारेको थियो।
भारतका लागि ओपनर सञ्जु सामसनले सर्वाधिक ८९ रनको योगदान दिए। उनले ६३ बलमा ८ चौका र ७ छक्का सहयोगमा ८९ रन बनाउँदा विल ज्याक्सको बलमा फिल साल्टको हातबाट क्याच आउट हुन पुगे।
२५ बलमा १ चौका र ४ छक्का सहयोगमा ४३ रन बनाएका शिवम दुवे रन आउट भए। इसान किसान ३९ रनमा क्याच आउट भए। २७ रन बनाएका हार्दिक पाण्ड्या रन आउट भए। तिलक बर्मा २१ रन बनाउँदा जोफ्रा आर्चरको बलमा बोल्ड आउट भए। कप्तान सूर्यकुमार यादव ११ रन बनाउँदा आउट भए।
इंग्ल्यान्डका लागि आदिल रसिद र विल ज्याक्सले समान २ विकेट लिए। जोफ्रा आर्चरको नाममा एक विकेट रह्यो।
Shares

प्रतिक्रिया