खेल


विश्वकपको दोस्रो सेमिफाइनल आज, इंग्ल्यान्ड र भारतबीच भिडन्त

विश्वकपको दोस्रो सेमिफाइनल आज, इंग्ल्यान्ड र भारतबीच भिडन्त

आज बिहीबार साबिक विजेता भारत र इंग्ल्यान्ड भिड्दै छन्


नेपालखबर
फागुन २१, २०८२ बिहिबार ५:४७, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज बिहीबार साबिक विजेता भारत र इंग्ल्यान्ड भिड्दै छन्। मुम्बइको वानखेडे स्टेडियममा हुने खेल सवा ७ बजे सुरु हुनेछ।

यो खेलको विजेताले उपाधिका लागि आइतबार न्यु जिल्यान्डसँग भिड्नेछ। भारत र इंग्ल्यान्ड दुबै टोली २ पटकको विश्वकप च्याम्पियन टोली हुन्। टी–२० विश्वकपमा भारत र इंग्ल्यान्ड लगातार तेस्रो पटक भिड्न लागेका हुन्। 

सुपर ८ को अन्तिम खेलमा जित निकाल्दै भारतले सेमिफाइनलमा स्थान बनाएको थियो। भारत विश्वकपको आयोजक टोली समेत हो। भारतले सन् २००७ र २०२४ को विजेता टोली हो। २०१४ को उपविजेता टोली भारतले २०१६ र २०२२ को सेमिफाइनल खेलेको थियो। २००९, २०१०, २०१२ मा भने सुपर ८ बाटै बाहिरिएको थियो। 

जारी विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्न नसकेको भारतको सेमिफाइनल यात्रा सु्पर ८ को अन्तिम खेलमा मात्र टुङगो लागेको थियो। समूह चरणमा शीर्ष स्थानम रहेर भारत सुपर ८ मा पुगेको थियो। समूह चरणमा अपराजित रहेको भारतले सुपर ८ मा एक खेलमा हार भोगेको थियो। सुपर ८ बाट भारत समूह १ को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। सुपर ८ को पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको थियो। 

दोस्रो खेलमा भने जिम्बाबेलाई ७२ रनले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको थियो। अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको थियो। 

इंग्ल्यान्ड सन् २०१० र २०२२ को विश्वकप च्याम्पियन टोली हो। २०२१ र २०२४ मा दुई पटक भने अन्तिम चारबाट बाहिरिएको छ। २०१६ मा उपाधि नजिक पुगेर पनि टाढिएको टोली हो इंग्ल्यान्ड। अघिल्लो संस्करण पनि इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। 

लगातार पाँच पटक सेमिफाइनल पुगेको इंग्ल्यान्ड तेस्रो पटक फाइनल खेल्न चाहन्छ। 

समूह चरणमा नेपाल भएको समूह सी मा रहेको इंग्ल्यान्ड समूह उपविजेताको रुपमा सुपर ८ मा पुगेको थियो। समूह चरणमा इंग्ल्यान्डले ३ खेलमा जित र १ खेलमा हार भोग्दै ६ अंकमा दोस्रो स्थानमा थियो। 

सुपर ८ मा भने इंग्ल्यान्ड अपराजित टोली हो। इंग्ल्यान्डले सुपर ८ मा तिन खेलमा जित निकालेको थियो। 

सुपर ८ को पहिलो खेलमा श्रीलंकालाई ५१ रनले हराएको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानमाथि २ विकेटको जित निकालेको थियो। सुपर ८ को अन्तिम खेलमा न्यु जिल्यान्डलाई ४ विकेटले हराउँदै समूह २ को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो। 

विश्वकपमा भारत र इंग्ल्यान्ड 
भारत र इंग्ल्यान्ड लगातार तेस्रो पटक आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा भिड्न लागेका हुन्। यी दुई टोलीबीचको सेमिफाइनल भेटको रोमाञ्चक पक्ष भनेको जुन टोलीले जित निकाल्छ त्यही टोलीले विश्वकपको उपाधि उचालेको छ। 

सन् २०२२ र २०२४ को सेमिफाइनल भारत र इंग्ल्यान्ड आमने सामने भएका छन्। २०२२ मा भएको भेटमा इंग्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो। जुन संस्करणको उपाधि इंग्ल्यान्डले जितेको थियो। 

२०२४ को भेटमा भने भारतले इंल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यो संस्करणको उपाधि भारतले उचालेको थियो। 

आईसीसी टी–२० विश्वकपमा भारत र इंग्ल्यान्ड पाँच पटक भेट भएका छन्। सो भेटमा भारतले ३ खेलमा जित निकाल्दा २ खेलको नतिजा इंग्ल्यान्डको पक्षमा गएको छ। 

हेट टु हेड
टी–२० आइमा भारत र इंग्ल्यान्ड २९ पटक भेट भएका छन्। ति भेटमा भारतले १७ पटक इंग्ल्यान्डलाई हराएको छ। १२ खेलमा भने इंग्ल्यान्डले जित निकालेको छ। 

२०२५ मा भएको पछिल्लो पाँच भेटमा भारतले चार खेलमा जित निकालेको छ। इंग्ल्यान्डले एक खेलको नतिजा मात्र आफ्नो पक्षमा पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad