समाज


आईजीपी कार्कीसँग ‘तत्कालै’ : सुरक्षाका विषयमा ‘कम्प्रमाइज’ हुँदैन, विगतभन्दा स्वच्छ वातावरणमा चुनाव हुन्छ (भिडिओ)

आईजीपी कार्कीसँग ‘तत्कालै’ : सुरक्षाका विषयमा ‘कम्प्रमाइज’ हुँदैन, विगतभन्दा स्वच्छ वातावरणमा चुनाव हुन्छ (भिडिओ)

तस्बिर: सरोज शाही


उजिर कार्की
फागुन २०, २०८२ बुधबार २३:५९, काठमाडौँ

२०७९ को निर्वाचनबाट ५ वर्षका लागि चुनिएका प्रतिनिधि जेनजी आन्दोलनका कारण दुई वर्ष पहिले नै बिदा भए। संसद् बाहिरबाट सरकार बन्यो र नयाँ निर्वाचनको घोषणा भयो। 

जेनजी आन्दोलनको जगमा उभिएको सरकारले प्रमुख दलहरूलाई नै बाहिर राखेर निर्वाचन गराउन सक्छ वा सक्दैन भन्ने अन्योलकाबिच मतदानको मिति आइपुग्यो।

बिहीबार बिहान ७ बजेबाट देशभर मतदान हुँदैछ। निर्वाचन पूर्वको अवस्थामा शान्ति सुरक्षा कायम गर्न सफल सुरक्षाकर्मीका मुख्य चुनौती अझै पनि बाँकी नै छन्। उनीहरूको मुख्य दायित्व भयरहित वातावरणमा मतदान गर्ने शान्ति सुरक्षाको व्यवस्था गर्नु हो। 

अहिले निर्वाचनका लागि डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिएको छ। ८० हजार नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली सुरक्षाका लागि फिल्डमै हुनेछन्। 

यस्तै यस पटकको निर्वाचनमा सुरक्षाकर्मीले प्रविधिको प्रयोग पनि बढाएको दाबी गरेका छन्। 

निर्वाचनको समयमा भित्री घेरामा नेपाल प्रहरी, मध्य घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन हुन्छन्। तर संवेदनशील देखिएमा नेपाली सेना र प्रहरी संयुक्त रूपमा खटिनेछन्। 

एक महिना पहिलेबाटै नेपाली सेना परिचालन भइसकेको छ। सेना चुनावमा यस पटक थप सक्रिय छ। हेलिकप्टरबाट पनि गस्ती गर्नेदेखि प्रविधिमा एआईसम्मको प्रयोग हुँदैछ। 

ड्रोनदेखि सीसीटीभीबाट सुरक्षा निगरानी गर्ने सुरक्षाकर्मीको तयारी छ। 

नेपाली प्रहरीका महानिरीक्षक दानबहादुर कार्की भन्छन्, ‘अहिले त प्रविधिले वाच गरिरहेको हुन्छ। व्यक्तिले थाहा पाएको छैन भनेर लुकिछिपी केही अपराध गरे पनि डाटा प्रहरीसँग रहन्छ। आपराधिक तत्त्वहरूलाई ढिलो चाँडो कानुनी दायरामा ल्याएरै छाड्छौँ।’

निर्वाचनका बेला आपराधिक गतिविधि गर्नेलाई तत्काल ऐन कानुन अनुसार कारबाही हुने र भोलिका दिनमा देश विदेश जाने लगायतका काममा पनि अप्ठेरो पर्ने प्रहरीको चेतावनी छ।

अपराधीहरू कसैका पनि नहुने भएकाले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन र अपराध न्यूनीकरणमा सहयोग गर्न प्रहरीको अनुरोध छ। एकातर्फ देशकै बदलिँदो परिस्थिति र थपिएका सुरक्षा चुनौती। अर्को तर्फ स्रोतसाधानबिहिन जस्तै बनेको प्रहरीको अवस्था। 

अहिले प्रहरीका भवनहरू जलेका छन्। गाडी जलेका छन्। हतियार लुटिएका छन्। महिनौँ लगाएर कानुनी दायरामा ल्याएका अपराधीहरू पनि जेलबाट भागेको अवस्था छ। 

तर आईजीपी कार्की भन्छन्, ‘भवन नहुँदा भावनाले, सवारी नहुँदा साधनाले काम गछौँ। जे जति स्रोत साधन छन् त्यसैबाट उत्कृष्ट सेवा दिन्छौँ। यसका लागि प्रहरीलाई तयारी गरिएको छ।’

जेनजी आन्दोलनपछि नागरिकले नै सहयोग गरेर प्रहरीलाई यो अवस्थासम्म पु¥याएकाले नागरिकको सहयोगले सक्रिय बन्न प्रहरीलाई प्रेरणा मिलेको कार्की बताउँछन्। 

जेनजी आन्दोलनमा पनि देशका सम्पत्तिमा हानी नोक्सानी गर्ने सयौँलाई प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ। कतिपय फरार छन्, तर प्रहरीले खोज्न छाडेको छैन। अहिले निर्वाचन केन्द्रित बनेको प्रहरीले सुरक्षा सतर्कता भने बढाएको प्रस्ट देखिन्छ।

यसअघि डीएसपी खटाइने जिल्लामा पनि यसपालिको चुनावमा एसएसपी खटाइएको छ। यसको मतलब चुनावी सुरक्षा चुनौती मात्रै बढेको नभई सुरक्षा सतर्कता बढेको आईजीपी कार्की दाबी गर्छन्। 

यस्तै उम्मेदवारको सुरक्षामा पनि विशेष ध्यान दिएको दाबी उनको छ। 

जिल्ला सुरक्षा समितिले आवश्यक ठानेमा जसलाई जस्तो आवश्यकता पर्छ त्यही अनुसार निर्णय गर्न सक्ने गरी जिल्लामा निर्देशन छ। कतिपय अवस्थामा केन्द्रले पनि थप व्यवस्था गरेको छ। 

मतदानदेखि मतगणना र मत परिणाम सार्वजनिक भएपछिको अवस्थासम्मका लागि सुरक्षा योजना के छन्? नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग नेपालखबर तत्कालैमा संवाद गरेका छौँः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad