खेल


टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

नेपालखबर
फागुन २०, २०८२ बुधबार ९:५३, काठमाडौँ

आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज (बुधबार) साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन्।

भारतको कोलकतास्थित इडेन गार्डेनमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। 

जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रोपटक भिड्न लागेका हुन्।

समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो। समूह चरणमा न्युजिल्यान्डले भोगेको एक मात्र हार यही हो। 

न्युजिल्यान्ड आजको खेलमा त्यो हारको बदला लिँदै फाइनलमा पुग्न चाहन्छ। तर यसमा साबिक उपविजेता दक्षिण अफ्रिका चुनौती बन्नेछ।

दक्षिण अफ्रिका लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ।

यसअघि सन् २०२४ को विश्वकपको फाइनलमा दक्षिण अफ्रिका भारतसँग ७ रनले हारेको थियो। त्यसअघि दक्षिण अफ्रिका सन् २००९ र २०१४ का विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। 

यता नेट रनरेटको फाइदा उठाउँदै सेमिफाइनलमा पुगेको न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्ने रणनीतिमा छ।

सुपर ८ समूह २ का न्युजिल्यान्ड र पाकिस्तानका समान ३/३ अंक भए पनि नेट रनरेटमा अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो।

न्युजिल्यान्ड सन् २००७, २०१६ र २०२२ मा पनि सेमिफाइनल पुगेको टोली हो। साथै सन् २०२८ को विश्वकप आयोजक पनि हो।

२०२८ को विश्वकप न्युजिल्यान्डसहित अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्दै छन्। 

विश्वकपको समूह ‘डी’मा रहेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको थियो।

न्युजिल्यान्ड पनि समूह ‘डी’कै उपविजेताका रूपमा सुपर ८ मा सामेल भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad