खेल


श्रीलंकालाई हराएको पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरियो, न्युजिल्यान्ड अन्तिम चारमा

श्रीलंकालाई हराएको पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरियो, न्युजिल्यान्ड अन्तिम चारमा

नेपालखबर
फागुन १७, २०८२ आइतबार ५:३४, काठमाडौँ

श्रीलंकालाई पराजित गरे पनि पाकिस्तानी राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ। 

सुपर ८ अन्तर्गत समूह २ को अन्तिम खेलमा पाकिस्तानले विश्वकप आयोजक तथा घरेलु टोली श्रीलंकालाई १ सय ४७ रनमा रोक्न असफल भएपछि न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ। 

शनिबार राति भएको खेलमा श्रीलंकालाई ५ रनले पराजित गरे पनि नेट रनरेटमा पछि परेपछि पाकिस्तान सेमिफाइनलबाट बाहिरिएको हो। 

न्युजिल्यान्ड र पाकिस्तानको समान ३ अंक भएपनि नेट रनरेटमा न्युजिल्यान्ड अघि रहेपछि शीर्ष २ मा रहेर अन्तिम चारमा पुगेको हो। 

न्युजिल्यान्डको नेट रनरेट १.३९० रहेको छ। पाकिस्तानको माइनस शुन्य दशमलव १२३ रहेको छ। 

यो समूहबाट इंग्ल्यान्ड यसअघि नै सेकिफाइनलमा पुगिसकेको छ। सुपर ८ का तिन खेलमा अपराजित रहेको इंग्ल्यान्ड ६ अंकमा शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो। 

आयोजक श्रीलंकाले भने सुपर ८ का तिनै खेलमा हार भोग्यो। 

पाकिस्तानले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७ रन मात्र बनाउन सक्यो। 

श्रीलंकाका लागि कप्तान दासुन लियांकेले सर्वाधिक ७६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। पवन रत्नायकेले ५८ रन बनाए। कमिल मिसराले २६ र चारिथ असलंकाले २५ रन थपे। 

त्यसअघि श्रीलंकाको पालकेले इन्टरनेशलन क्रिकेट स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो। 

पाकिस्तानका ओपनर साहिबजादा फरहानले शतक पूरा गरे। उनले ६० बलमा ९ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। 

अर्का ओपनर फखर जमानले ८४ रनको योगदान दिए। उनले ४२ बलमा ९ चौका र ४ छक्का हाने। 

पहिलो विकेटका लागि साहिबजादा र फखरले १५.५ ओभरमा १ सय ७६ रनको विशाल साझेदारी गरेका थिए। यद्यपी टोलीलाई सेमिफाइनलमा पुर्याउन भने असफल रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

यो समूहबाट सेमिफाइनल पुग्ने २ टोलीको टुङ्गो लागेको छ। इंग्ल्यान्ड र न्यु जिल्यान्डले सेमिफाइनलमा स्थान बनाए। पाकिस्तान र श्रीलंका भने सुपर ८ बाटै बाहिरिएका छन्। 

अब सेमिफाइनल पुग्ने १ टोलीको टुङ्गो लाग्न बाँकी छ। सुपर ८ को समुह १ बाट दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। 

सेमिफाइनल पुग्ने दौडमा वेष्ट इण्डिज र भारत छन्। सुपर ८ का २ खेलमध्य १ खेलमा जित र १ खेलमा हार भोगेका वेष्ट इण्डिज र भारत सेमिफाइनल पुग्ने योजनामा छन्। 

लगातार दुई खेलमा हार भोगेको जिम्बाबे यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ। 

सुपर ८ अन्तर्गत आइतबार अन्तिम दुई खेल हुनेछन्।  आइतबार जिम्बाबे र दक्षिण अफ्रिका तथा वेष्ट इण्डिज र भारत भिड्दैछन्। 

भारत र वेस्ट इन्डिजबीचको खेलको विजेताले सिधै सेमिफाइनलमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad