ग्लोबल


ट्रम्पको दाबी: इरानका सर्वोच्च नेता खामेनी मारिए

ट्रम्पको दाबी: इरानका सर्वोच्च नेता खामेनी मारिए

रानका सर्वोच्च नेता अयातोल्लाह खामेनी (फाइल फोटो)


नेपालखबर
फागुन १७, २०८२ आइतबार ५:३४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन्। यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए।’

इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका धेरैवटा सहरमा हवाई हमला गरेको थियो। जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए।

रोयटर्सले पनि इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता मारिएको दाबी गरेको छ। खामेनीको शव हवाई आक्रमणपछि भग्नावशेषमुनि फेला परेको थियो।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खमेनीको मृत्यु भएको संकेत देखिएको बताएका थिए।

अर्कातर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सर्वोच्च नेता जीवित रहेको दाबी गरेका छन्। 

इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्ति मारिएको र ७४० भन्दा बढी घाइते भएको बताएको छ। 

धेरै दिनदेखि देखिएका थिएनन् खामेनी

८६ वर्षीय खामेनी इरानका सेनापति (कमान्डर इन चिफ) हुन्। सबै राजनीतिक र धार्मिक मामिलामा अन्तिम निर्णय खामेनीले गर्छन्। इस्लामिक गणतन्त्रको सुरक्षा गर्ने इरानको अर्धसैनिक क्रान्तिकारी गार्डले उनलाई सिधै जवाफ दिन्छ।

१९८९ मा इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि खामेनी इरानको सर्वोच्च नेता बनेका थिए। खामेनीले १९७९ को क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसले शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्‍यो।

शनिबार इजरायल-अमेरिकाले गरेको हवाई आक्रमणमध्ये एउटा खामेनीको कार्यालयनजिकै भएको थियो। यद्यपि त्यतिबेला खामेनी कहाँ थिए भन्ने कुरा स्पष्ट थिएन, तर उनी धेरै दिनदेखि देखिएका थिएनन्।

इरानका ८५ छात्राको मृत्यु

इरानको एक छात्रा विद्यालयमा इजरायल-अमेरिकाले शनिबार क्षेप्यास्त्र प्रहार गर्दा ८५ विद्यार्थीको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै दाबी गरेअनुसार आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर पनि मारिएका छन्।

इजरायल-अमेरिकाले शनिबार इरानका १० सहरमा हवाई आक्रमण गरेको थियो। आक्रमणपछि ट्रम्पले भिडिओ सन्देश जारी गर्दै इरानविरुद्धको आक्रमण अमेरिकी नागरिकको सुरक्षाका लागि गरिएको बताएका थिए।

जवाफमा इरानले पनि शनिबार इजरायलमा झन्डै ४०० क्षेप्यास्त्र प्रहार गर्‍यो भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी अड्डालाई निसाना बनायो। साथै इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि क्षेप्यास्त्र हानेको छ।

इरानमा इजरायल-अमेरिकाले गरेका हवाई हमलाका केही दृश्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad