खेल


साम्बाले किन फेरि उपचारका लागि अस्पेटार नै रोजिन्?

एन्फाले हात झिक्यो, समर्थकले मन फुकाएपछि कतार जाँदै छिन् साम्बा
साम्बाले किन फेरि उपचारका लागि अस्पेटार नै रोजिन्?

लक्ष्मी जि.सी
फागुन १५, २०८२ शुक्रबार ७:४२, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गत सोमबार उपचारका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग मागिन्।

मंगलबार नै उनको उपचारका लागि चाहिएको रकम अपिल गरेको २४ घण्टामै संकलन भयो। चाहिने करिब डेढ करोड संकलनपछि उनले पुगेको भन्दै सहयोगदातालाई धन्यवादसहित जानकारी दिइन्। 

तर यसले नेपाली खेलाडीले चोट लागेपछि भोग्नुपरेको पीडालाई फेरि एकपटक उजागर गरेको छ। यतिमात्र नभई नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को भूमिकामाथि प्रश्न पनि उठाएको छ। सामाजिक सन्जालमा एन्फाको चर्को आलोचना भएको छ।

साम्बाका अनुसार उनले उपचारका लागि पहल गरिदिन एन्फासँग आग्रह गरेकी थिइन्। तर एन्फाले विगतजस्तो आवश्यक तत्परता नदेखाएको, व्यावसायिक क्लबले नै उपचारको जिम्मा लिनुपर्ने र आफूहरूले अन्तिममा बढीमा ५ लाख रुपैयाँ मात्र सहयोग गर्न सक्ने जवाफ दिएको थियो। 

यस्तो अवस्थामा अन्य विकल्प नदेखेपछि समर्थकसँग सहयोग माग्ने निर्णय लिएको बताउँछिन् साम्बा। एन्फाले पछि सहयोगका लागि पहल गरिरहेको विज्ञप्ति निकालेको थियो। तर त्यतिन्जेलसम्म समर्थकहरूले नै ठूलो जिम्मेवारी उठाइसकेका थिए। साम्बाले अब एन्फाको सहयोग नलिने पनि प्रस्ट पारिसकेकी छिन्। 

साम्बाको उपचारका लागि देशभित्रै करिब १ करोड रुपैयाँ र विदेशमा रहेका नेपालीबाट थप ५० लाख रुपैयाँ संकलन हुनु सामान्य विषय होइन। सरकार र सम्बन्धित निकाय अघि नबढे पनि आफ्नो स्टार खेलाडीलाई पुनः मैदानमा फर्किएको हेर्न चाहने उद्देश्यले आर्थिक सहयोग गर्ने संस्था, व्यवसायी र व्यक्तिहरू यसका लागि धन्यवादका पात्र बनेका छन्। 

नेपाली फुटबल इतिहासकै सर्वाधिक ५९ अन्तर्राष्ट्रिय गोल गरिसकेकी साम्बाबाट फुटबलमा थप अपेक्षा समर्थकको रहेको उनको उपचारका लागि संकलित रकमले पनि पुष्टि गर्छ। 

साम्बाले किन रोजिन् अस्पेटार?
करिब ७ साताअघि घुँडामा गम्भीर चोट लागेपछि साम्बा अहिले मैदानबाहिर छिन्। उनी आबद्ध क्लब वेलिङटन फोनिक्सले न्युजिल्यान्डमै उपचार गराउने र सबै खर्च व्यहोर्ने बताएको थियो। नेपालका केही अस्पतालले पनि निःशुल्क उपचार गर्ने प्रस्ताव गरेका थिए। 

तर साम्बाले उपचारका लागि कतारस्थित विश्वप्रसिद्ध अस्पेटार अस्पताल रोजिन्। उनले उपचारका लागि अस्पेटार रोजेपछि नेपालका केही अस्पतालहरुले उनको उपचार नेपालमा नै सम्भव रहेको र उनी तयार भए निःशुल्क उपचार गर्ने बताएका थिए। 

यसले सामाजिक सञ्जालमा बहस पनि छेडिएको छ। तर, साम्बा बहस होइन, मैदान फर्किने लक्ष्यसहित उपचारको प्रक्रियामा छिन्। 

साम्बाका अनुसार उनले अस्पेटार रोज्नुको कारण उपचार मात्र होइन, त्यसपछिको पुनरागमन पनि हो। 

‘मेरो लक्ष्य शल्यक्रिया मात्र होइन, त्यसपछि बलियो रूपमा मैदान फर्किनु हो’, उनले भनिन्। 

यसअघि पनि साम्बाले यही अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी थिइन्। त्यतिबेला तत्कालीन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको पहलमा कतार फुटबल संघले उनको निःशुल्क उपचार गराएको थियो। सोही अनुभव सफल भएपछि उनले फेरि अस्पेटारमै उपचार गर्ने निर्णय गरिन्।

अहिले उनको घुँडाको एसीएलमा राखिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर समस्या देखिएको छ, जसका लागि पुनः शल्यक्रिया आवश्यक छ। विश्वका चर्चित खेलाडीहरूले उपचार गराउने अस्पेटार घुँडाको शल्यक्रिया र पुनःस्थापनाका लागि विशेष मानिन्छ। यहाँ उपचार गराएका खेलाडीहरू अपेक्षाकृत छिटो मैदान फर्किने उदाहरण धेरै छन्। 

साम्बाको चोट, संघर्ष र पुनरागमन
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा २०७७ सालमा महिला लिग खेल्ने क्रममा साम्बाको घुँडामा पहिलोपटक गम्भीर चोट लागेको थियो। त्यसपछि २०७८ असारमा अस्पेटारमै शल्यक्रिया गरिएको थियो। करिब सात महिनाको उपचार, फिजियोथेरापी र रिह्याबपछि उनी सोही वर्षको अन्त्यतिर मैदान फर्किएकी थिइन्। 

पुनरागमनपछि उनले भारतीय लिगमा सनसनीपूर्ण प्रदर्शन गरिन्। त्यसपछि इजरायल, फ्रान्स र न्युजिल्यान्डका लिगमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबललाई अन्तर्रािष्ट्रयस्तरमा चिनाएकी छन्। उनी युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन्। 

तर न्युजिल्यान्डमै खेल्ने क्रममा फेरि उही घुँडामा गम्भीर चोट लागेपछि साम्बा पुनः शल्यक्रियाको चरणमा पुगेकी छन्। 

यसपटक भने उनको उपचार यात्रा केवल अस्पतालसम्म सीमित छैन, यसले नेपाली खेलाडीको अवस्था, संस्थागत जिम्मेवारी र समर्थकको साथ कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश पनि दिएको छ। अहिले साम्बाको लक्ष्य स्पष्ट छ– सफल उपचारपछि अझ बलियो बनेर फेरि मैदान फर्किने। 

उनी उपचारका लागि शुक्रबार न्युजिल्यान्डबाट कतार जाँदै छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad