नेपालका लागि तेस्रोपटक विश्वकप क्रिकेट खेलेका सोमपाल कामीले वेस्ट इन्डिजजस्तो टोलीसँग खेल्न कठिन हुने बताएका छन्।
खेलपछि पत्रकारहरुसँगको अन्तर्क्रियामा उनले टस हार्नुलाई पनि एउटा कारण माने।’
‘यो कठिन विकेट थियो। हामीले टस हार्नु पनि एक पक्ष रह्यो। वेस्ट इन्डिजसँग विश्वकप खेल्नु कठिन नै हो। शारजहामा हामीले राम्रो क्रिकेट खेलेका थियौँ’, उनले थपे, ‘हामी इंग्ल्यान्डसँग राम्रो खेलेका थियौँ। त्यसपछि उच्चस्तरमा खेल्न सकेका छैनौँ। इटलीसँग भन्दा आज राम्रो खेलेका हौँ। भविष्यमा राम्रो क्रिकेट खेल्नेछौँ।’
उनले राम्रो खेल्न सके मात्र नतिजा राम्रो आउने बताए। यो हारबाट बलियो बनेर आउने उनको दाबी थियो।
उनले खेलाडीहरु सामाजिक सञ्जालबाट टाढै रहनुपर्ने प्रशिक्षक स्टुवार्टको भनाइमा पनि सहमत छन्।
‘सामाजिक सञ्जाल प्रयोगबारे उहाँ सही हुनुहुन्छ। यो सबै व्यक्तिगत कुरा हो। खेलाडीका लागि हरेक दिन नयाँ हो। हामी सामाजिक सञ्जालबाट अलि टाढै बस्नुपर्छ’, उनले भने।
हार्नुपर्दा दुःख लागेको बताउँदै उनले उत्कृष्ट प्रदर्शन गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।
‘हामीले शतप्रतिशत दिन सकेका छैनौँ। दक्षिण अफ्रिका, बंगलादेशसँग पनि हारेका थियौँ। तर इटलीसँगको हारले धेरै दुःखित बनाएको छ’, उनले भने।
सोमपालले अर्को विश्वकप खेल्ने भोक रहेको बताए।
‘अर्को विश्वकप खेल्ने भोक त छ, तर त्यो बेला म फिट हुन सक्छु कि सक्दिन भन्ने पनि हो’, उनले भने, ‘जित्ने हो भने बोर्डमा राम्रो रन राख्न सक्नुपर्छ। वानखेडेमा विकेट राम्रो थियो। ग्राउन्ड पनि सानो। हामीले कम्तीमा १८० रन बनाउनुपर्ने थियो।’
अब टेस्ट राष्ट्रहरुसँग राम्रा सिरिजहरु खेल्नुपर्ने उनको भनाइ छ। पत्रकारहरुले अफगानिस्तानले नेपाल आएर खेल्न चाहेकोबारे सोधेका थिए। त्यसमा सोमपालले अफगानिस्तानलाई नेपालमा स्वागत गर्न तयार रहेको बताए।
Shares

प्रतिक्रिया