महिला एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
शुक्रबार भएको पहिलो खेलमा राष्ट्रिय महिला क्रिकेट टोली पाकिस्तानको ए टोलीसँग ३० रनले हारेको हो।
पाकिस्तान एले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर बिन्दु रावलले बनाएको ३९ रन नै सार्वधिक रह्यो। बिन्दुले ४५ बलमा ८ चौका सहयोगमा ३९ रन बनाउँदा मोमिना रियासतको बलमा क्याच आउट हुन पुगिन्।
कविता कुवँर १८ र सिता रानामगर १९ रनमा अविजित रहे।
कप्तान पूजा महतो १६ बलमा ११ रन बनाउँदा अनोसा नासिरको बलमा इमान नसिरको हातबाट क्याच आउट नै भइन्।
सम्झना खड्का ५ बलमा १ चौका सहयोगमा ६ रन बनाउँदा वाहिदा अख्तरबाट कट एण्ड बोल्ड भइन्। कविता जोशी शून्य रनमा नै अनोसा नासिरको बलमा एलबीडब्लु धरापमा परिन्।
रुवि पोडार ३ र रुविना क्षेत्री २ रनमा क्याच आउट नै भए।
नेपाललाई सस्तैमा रोक्न अनोसा नासिरले ३ विकेट लिइन्। मोमिना रियासतले २ र वाहिदा अख्तरले एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि थाइल्यान्डको बैककस्थित टे«डथाइ क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तान ए टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको थियो।
पाकिस्तान एका लागि कप्तान हाफ्सा खालिद ३९ बलमा २ चौका र १ छक्का सहयोगमा ४० रनमा नटआउट रहिन्।
वाहिदा अख्तर २३ रन बनाउँदा रिया शर्माको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्।
हुरैना सज्जादले १७ र सवाल जुल्फीकरले १० रन थपे।
नेपालका लागि कविता कुवँरले २ विकेट लिइन्। मनीषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले अब समूह चरणको दोस्रो खेलमा आइतबार यूएईविरुद्ध खेल्नेछ। समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको ए टोलीसँग खेल्ने तालिका छ।
एसिया कपमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन्।
फाइनल खेल यही फेब्रुअरी २२ मा हुनेछ।
एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपाल भारत, पाकिस्तान र यूएई रहेको समूह एमा छ।
समूह बीमा आयोजक थाइल्यान्डसहित बंगलादेश, मलेसिया र श्रीलंका छन्।
Shares

प्रतिक्रिया