खेल


विश्वविजेता इङल्यान्डसँग भिड्दै नेपाल: सोमपालको दुर्लभ कीर्तिमान र पाँच युवा खेलाडीको 'डेब्यु' पर्खाइ

विश्वविजेता इङल्यान्डसँग भिड्दै नेपाल: सोमपालको दुर्लभ कीर्तिमान र पाँच युवा खेलाडीको 'डेब्यु' पर्खाइ

लक्ष्मी जि.सी
माघ २४, २०८२ शनिबार १४:३५, मुम्बई (भारत)

दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डसँग खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ। 

लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टोली बलियो प्रतिद्धन्दीविरुद्ध मैदान उत्रँदा सुखद सुरुवातको योजनामा हुनेछ।

इङल्यान्ड सन् २०१० र २०२२ को विश्वकप विजेता टोली हो। 

मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे हुनेछ। 

नेपालले समूह चरणका आफ्ना सबै खेल वानखेडे स्टेडियममा नै खेल्नेछ।

इङल्यान्डले भने समूह चरणका सुरुवाती २ खेल वानखेडे स्टेडियममा खेलेर कोलकता पुग्नेछ। कोलकताको इडेन गार्डेनमा इङल्यान्डले स्कटल्यान्ड र इटालीसँग खेल्ने तालिका छ। 

पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले त्यसको एक दशकपछि अमेरिका र वेष्ट इण्डिजमा भएको विश्वकप खेलेको थियो। सन् २०२४ र २६ मा लगातार विश्वकप खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ। 

विश्वकपको तयारीका लागि नेपाली टोलीले श्रीलंका र भारतमा अभ्यास गरेको थियो। विश्वकपअघिको दुई अफिसियल वार्मअप म्याचमा नेपालले युएई र क्यानडालाई हराएको थियो। 

अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्। 

यता, सोमपाल कामी भने नेपालले खेलेका तीन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन्। 

नेपालले लगातार दोस्रो पटक रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्न लागेको हो। सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा टेलिभिजनमा हेरेका रोहित अहिले कप्तानी जिम्मेवारीमा छन्। दशकअघि आफूहरु विश्वकप हेरेर नै क्रिकेटमा लाग्न प्रेरणा मिलेको बताउने कप्तान रोहित अब आफूहरुलाई हेरेर नयाँ खेलाडी तयार हुनेमा आशावादी छन्।

कप्तान रोहितसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्। 

दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डसँग खेल्दै नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ।

इङल्यान्डसँगको खेलअघि नेपाली टोलीले शनिबार कुनै अभ्यास गर्न पाएन। शनिबार सुरु विश्वकपमा साविक विजेता भारत र अमेरिकाबीचको खेल वानखेडे स्टेडियममा हुनेछ। अभ्यास खेलपछि चेन्नईबाट शुक्रबार मात्र मुम्बई आइपुगेको नेपाली टोलीलाई आज आराम दिइएको छ। 

भारत र श्रीलंकामा संयुक्त रुपमा हुने विश्वकपमा कुल ५५ खेल हुनेछन्। विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि हरेक समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। 

नेपालले समूह चरणमा दुइ पटकको च्याम्पियन इङल्यान्ड र वेष्ट इण्डिजसँग खेल्नेछ। वेष्ट इण्डिजले सन् २०१२ र २०१६ मा विश्वकपको उपाधि उचालेको थियो। 

सन् २००७ मा विश्वकप कपमा डेब्यु गरेको स्कटल्यान्ड सन् २०१६ पछि लगातार विश्वकप खेल्ने टोली हो। बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न अस्वीकार गरेपछि आईसीसीले स्कटल्यान्डलाई मौका दिएको हो। 

विश्व फुटबलमा चर्चित इटाली भने विश्वकपमा डेब्यु गर्न लागेको टोली हो। यसपटक समान दुई पटकका च्याम्पियनसहितको समूहमा रहेको नेपालले सुपर एट प्रवेश गर्न सकेमा नेपाली टोली फेरि एक पटक विश्व कपमा चर्चाको विषय बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad