आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार दुई हार व्यहोरेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले शनिबार जिम्बाब्वेसँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। सुपर सिक्समा पुग्न घरेलु टोलीसामु जितको विकल्प छैन। समूह चरणमा नेपाल र जिम्बाब्वे मात्र जितविहीन टोली हुन्।
नेपालले शनिबारको खेलमा जिम्बाब्वेलाई हराए सुपर सिक्स पुग्ने आशा जीवित रहनेछ। यद्यपि त्यो नै पर्याप्त भने हुनेछैन। नेपालले सुपर सिक्स खेल्न अन्य खेलको नतिजा पनि आफूअनुकूल आउनुपर्नेछ। नेट रनरेट पनि नेपाली टोलीको अनुकूल बन्नुपर्ने हुन्छ।
नेपाल सुपर सिक्समा पुग्नका लागि शनिबार नै हुने समूह ‘बी’को पहिलो खेलमा स्कटल्यान्ड थाइल्यान्डसँग पराजित हुनुपर्नेछ। समूह चरणको अन्तिम खेलमा पनि नेपालले स्कटल्यान्डलाई नै हराउनुपर्नेछ। समूह चरणको अन्तिम खेलमा सोमबार नेपाल र स्कटल्यान्डको खेल्नेछन्।
नेपालको अघिल्ला दुई खेलमा मिडल अर्डर कमजोर देखिएको छ। कप्तान र उपकप्तानले आफ्नो पारी सम्हाल्न सकेका छैनन्। ब्याटिङ लाइनमा कमजोर देखिएको नेपाली टोलीको बलिङ पक्षमा पनि ध्यान दिनु जरुरी छ।
आईसीसी महिला टी–२० वरीयतामा नेपाल २१औँ स्थानमा छ। जिम्बाब्वे भने १६औँ स्थानमा छ। वरीयतामा आफूभन्दा माथि रहेको टोलीलाई हराउँदै नेपाली टोली सुपर सिक्स पुग्ने लक्ष्यमा हुनेछ।
समूह चरणको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा जिम्बाब्वे जित निकाल्दै ग्लोबल छनोट यात्रा अन्त्य गर्न चाहन्छ। नेपाल रहेको समूह ‘बी’बाट नेदरल्यान्ड्सले एक खेलअगावै सुपर सिक्समा स्थान पक्का गरिसकेको छ।
नेपाली टोली पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले हार व्यहोरेको थियो। लगातार दुई खेलमा हार भोगेको नेपाल अंकविहीन रुपमा तालिकाको चौथो स्थानमा छ। लगातार तीन खेलमा हार भोगेको जिम्बाब्वे तालिकाको पुछारमा छ।
नेपालले अब जिम्बाब्वे र स्कटल्यान्डसँग खेल्न बाँकी छ। नेपालले यी दुई खेलमा जित निकालेको अवस्थामा स्कटल्यान्डले भने अर्को खेलमा हार भोग्नुपर्ने हुन्छ। यो समूहमा नेदरल्यान्ड र थाइल्यान्ड अपराजित टोली हुन्। लगातार तीन खेलमा जित निकालेको नेदरल्यान्ड्स ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक बनाएको थाइल्यान्ड दोस्रो स्थानमा छ।
एक खेलमा जित र एक खेलमा हार भोगेको स्कटल्यान्ड २ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया