खेल


अर्थतन्त्रमा कोरोना असरः खेलकुदले गुमाउँदै २ अर्ब बढी बजेट

अर्थतन्त्रमा कोरोना असरः खेलकुदले गुमाउँदै २ अर्ब बढी बजेट

लक्ष्मी जि.सी
बैशाख २५, २०७७ बिहिबार १:५६,

आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयको बजेट २ अर्बभन्दा बढी घट्ने भएको छ। आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब २१ करोड रुपैयाँको सिलिङ तोकिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए।

सिलिङ भनेको बजेटको दायरा हो। अर्थ मन्त्रालयले तोकेको सिलिङको दायराभित्र रहेर मन्त्रालयले बजेट पाउने हुन्।

यो आर्थिक वर्षमा सरकारले ३४ खर्बको अर्थतन्त्रलाई ७ प्रतिशतले बढाउने लक्ष्य लिएको थियो। कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीपछि सुरु भएको लकडाउनका कारण करिब २ महिनादेखि आर्थिक गतिविधि ठप्प छन्। यसको असर राष्ट्रिय अर्थतन्त्रमा देखिएको छ।

अर्थ मन्त्रालयकै योजनाअनुसार बजेट बिनियोजन भए गत वर्षको तुलनामा खेलकुदको बजेट आधाभन्दा बढी घट्नेछ। अहिले अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगले दिएको सिलिङमा आधारित भएर आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माण गरिरहेको छ।

योजना आयोगले अर्थ मन्त्रालयलाई बजेटको सिलिङ चैतमै पठाएको हो। अर्थले सो सिलिङ खेलकुद मन्त्रालयलाई पठाएपछि यतिबेला आन्तरिक छलफल भइरहेको हो।

अहिले तोकिएको सिलिङको अधिकतम रकम बिनियोजन गरिए पनि त्यो चालू आर्थिक वर्ष २०६६/७७ भन्दा २ अर्ब २६ करोड कम हुनेछ। आव २०७६/७७ मा लागि सरकारले ३ अर्ब ४७ करोड रुपैयाँ खेलकुदका लागि विनियोजना गरेको थियो।

‘कुल बजेटको १ प्रतिशत बजेट माग्न खेलकुदमन्त्री जगतबहादुर सुनारले पहल गरिरहनु भएको छ’, सचिव थपलियाले नेपालखबरसँग भने, ‘राष्ट्रिय योजना आयोगले तोकेको सिलिङमा अर्थमन्त्रीले केही हेर्छु भन्नुभएको छ।’

गत वर्षको सुरुवातामा प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो। मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदका लागि सरकारले अलग्गै ४ अर्ब रकम दिएको थियो।

राष्ट्रिय खेलकुद परिषदमार्फत निर्माण भइरहेका पुराना ९० वटा आयोजनाहरु आगामी बजेटबाट पूरा गर्ने लक्ष्य मन्त्रालयको छ। पूरा भइसकेको इटहरी रगंशालासहित देशका खेलकुदका अन्य संरचनाका लागि अर्थ मन्त्रालयसँग बजेट माग्ने मन्त्रालयको तयारी छ। तर आगामी आर्थिक वर्षमा नयाँ भौतिक संरचनाका लागि रकम विनियोजन हुनेछैन।

खेलकुद मन्त्रालयले पूर्वाधार निर्माणमा स्थानीय तहलाई समेत सहभागी गराउने तयारी गरिरहेको छ। ‘चालू आर्थिक वर्षमा खेल पूर्वाधारका लागि गाँउपालिका र नगरपालिकासँग लागत साझेदारी पनि हुनेछ। स्थानीय तह ३० प्रतिशत तथा बाँकी ७० प्रतिशत संघीय सरकारको लगानीमा निमार्ण पूरा गर्छौ’, सचिव थपलिया भन्छन्।

अहिले मन्त्रालयले कुन शीर्षकमा कति बजेट छुट्याउने भनेर छलफल गरिरहेको छ। ‘बजेटको पूरा खाका बनिसकेको छैन। न्युनतम बजेट पाउने भएपछि पनि के मा कति राख्ने भन्ने विषयमा छलफल जारी छ’, सचिव थपलिया भन्छन्।

अहिले बजेट थोरै परे पनि कार्यक्रम र योजना हेरेर पछि बजेट माग गर्न सकिनेमा सचिव थपलिया आशावादी छन्। ‘१३ औं सागको लागि पनि ५० लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो’, उनी भन्छन्, ‘पछि अर्थमन्त्री युवराज खतिवडा ज्युले माग भएको बजेट दिएपछि साग आयोजना भएको हो।’

कोरानो भाइरसको असर खेलकुद बजेटमा पर्ने देखिएको हो। बजेट गुमाउँदा २०७७ फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदलाई पनि असर गर्न सक्ने थपलियाको अनुमान छ। नवौं राष्ट्रिय खेलकुद फागुनमा हुन नसके अर्को वर्ष २०७८ सर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad