बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले सुरक्षाको कारण देखाउँदै आइसीसी टी-२० विश्वकप खेल्न भारत नजानेमा दृढ रहेको बताएको छ। बीसिबीले मंगलबार एक विज्ञप्ती जारी गर्दै भारत खेल्न नजाने आफ्नो निर्णयमा अडिक रहेको बताएको हो।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बंगलादेशले भारतमा विश्वकप नखेल्न गरेको निर्णयमा पुनः विचार गर्न आग्रह गरेपनि बीसिबीले आफुहरुले सुरक्षाको कारण भारतमा नखेल्ने बताएको हो।
बीसिबीले सुरक्षाको कारण देखाउँदै आफुहरुको खेल श्रीलंकामा सार्न आइसीसीलाई आग्रह गरेको छ। बिसिबीले आफ्नो मुद्धालाई सम्बोधन गर्न आइसीसीसँग रचनात्मक रुपमा संलग्न हुँदै आफ्नो खेलाडी, अधिकारी र कर्मचारीको हितको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ।
आइसीसीसँगको छलफलमा बिसिबीको प्रतिनिधिमा बोर्ड अध्यक्ष अमिनुल इस्लाम, उपाध्यक्ष शकावथ हुसेन र फारुक अहमद, क्रिकेट सञ्चालन समितिका निर्देशक तथा अध्यक्ष नजमुल आबेदीन र प्रमुख कार्यकारी अधिकृत निजामउद्दीन चौधरी रहेका थिए।
आइसीसीले भने प्रतियोगिताको मिति घोषणा भइसकेकाले बिसिबीको अडानमा पुनर्विचार गर्न आग्रह गरेको छ। दुबै पक्षले सम्भावित समाधान खोज्न छलफल जारी राख्ने कुरामा भने सहमति जनाएका छन्।
मुस्ताफिजुरलाई हटाइएपछि बंगलादेश सरकारले आफ्नो देशमा आइपीएलको प्रसारणमा रोक लगायो। साथै भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गर्दै आइसीसीलाई पत्र पठाएको थियो।
विश्वकपमा नेपाल र बंगलादेश एकै समुहमा रहेका छन्। नेपाल र बंगलादेशबीचको खेल १७ फेब्रुअरीमा रहेको छ।
नेपाल र बंगलादेशसँगै इङल्यान्ड, इटाली र वेष्ट इण्डिज एकै समुहमा रहेका छन्।
Shares

प्रतिक्रिया