टिप टप न्यु डायमन्ड युथ स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले काठमाडौँमा सुरु नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजय सुरुआत गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा साविक विजेता पुलिस क्लबले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पाखा लगाएको हो।
पुलिस क्लबले एपीएफलाई २५-२२, २५-२० र २५-२१ को सोझो सेटमा हराएको हो। आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा नै हराएको छ।
न्यु डायमन्डले आर्मीमाथि २५-१६,२५-१५ र २५-१७ को जित निकालेको हो। चार टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारमा दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो स्थानमा रहने टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछिन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ पाउनेछिन्।
Shares

प्रतिक्रिया