खेल


महिला क्रिकेट टोली विश्वकपमा पुग्नेमा विश्वस्त छन् नयाँ प्रशिक्षक पाठक

महिला क्रिकेट टोली विश्वकपमा पुग्नेमा विश्वस्त छन् नयाँ प्रशिक्षक पाठक

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
पुस ८, २०८२ मंगलबार १९:१८, काठमाडौँ

आगामी माघ पहिलो साता सुरु हुने आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अहिले अभ्यासमा व्यस्त छ। 

मुलपानी क्रिकेट मैदानमा नेपाली टोली अहिले दैनिक प्रशिक्षणमा जुटिरहेको छ। महिला टोलीलाई भारतका हर्शल पाठकले प्रशिक्षण दिदै आएका छन्। 

समग्र महिला क्रिकेटको स्तर वृद्धि लागि नेपाल क्रिकेट संघ (क्यान) ले हर्शल पाठकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

थाइल्याल्ड क्रिकेट टोलीका पूर्वप्रशिक्षक समेत रहेका उनले विपक्षी प्रशिक्षकको रुपमा नेपालको महिला टोलीबारे पहिले नै धेरथोर जानकारी लिइसकेका छन्।

ग्लोबल छनोटका लागि अहिले दोस्रो चरणमा खेलाडी छनोट गरेर प्रशिक्षण भइरहेको छ। दोस्रो चरणमा अहिले २० खेलाडी छन्। 

नेपालले पहिलो पटक घरेलु मैदानमा ग्लोबल छनोट खेल्न लागेको हो। ग्लोबल छनोटलाई लिएर महिला टोली उत्साहित छ। 

महिला टोलीसँगै मुख्य प्रशिक्षक पाठक पनि नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी देखिएका छन्। 

प्रशिक्षक पाठकले भने, ‘ग्लोबल छनोट घरेलु मैदानमा नै खेल्न पाएका छौँ, त्यसको पनि फाइदा पुग्नेछ। मैले विपक्षी प्रशिक्षक हुँदा पनि नेपालको महिला टोलीलाई हेरेको थिएँ। नेपालको टोली क्षमतावान छ। हामी विश्वकपमा पुग्नेमा विश्वस्त छौँ।’

‘यहाँको क्रिकेट वातावरण पनि राम्रो छ, टोली पनि राम्रो गर्न सक्ने क्षमतावान छ। त्यसैले विश्वकपमा छनोट हुने सम्भावना देखेको छु,’ उनले थपे।

क्यानले प्रशिक्षक पाठकलाई २ वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो। नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले पाठकलाई समग्र क्रिकेट हेर्ने गरि ल्याएको बताए।

‘प्रशिक्षक पाठकलाई ग्लोबल छनोटका लागि मात्र ल्याएका हैनौँ,’ उनले भने, ‘यो नेपालको महिला सिनियर टोलीलाई मात्र हैन समग्रमा महिला क्रिकेट नै हेर्ने गरेर ल्याएका हौँ। नेपालको महिला क्रिकेटको विकासका लागि उमेर समूहदेखि नै काम गर्नुहुनेछ।’

ग्लोबल छनोटमा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेरदल्यान्ड रहेको समूह बी मा छ। 

महिला टोलीले आगामी माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्दै ग्लोबल छनोटको यात्रा सुरु गर्नेछ। 

दोस्रो खेल माघ ८ गते नेदरल्यान्डसँग १० गते जिम्बावेविरुद्ध खेल्नेछ। समूह चरणको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ। 

नेपालले थाइल्यान्ड र नेदरल्यान्डसँगको खेल मुलपानी क्रिकेट मैदानमा खेल्नेछ। जिम्बाबे र स्कटल्यान्डसँगको खेल टियु मैदानमा खेल्ने तालिका छ। 

छनोट अघि नेपालले आयरल्यान्ड र अमेरिकासँग दुई अभ्यास खेल खेल्नेछ। पहिलो अभ्यास खेल पुष ३० गते आयरल्यान्डसँग तल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ। 

दोस्रो अभ्यास खेल माघ २ गते अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास खेल खेल्ने तालिका छ। समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। 

ग्लोबल छनोटबाट चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाइ ५ सम्म इङल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्। 

ग्लोबल छनोटबाट गएका ४ टोलीमध्य दुई टोलीले समूह ए र दुई टोलीले समूह बी मा स्थान बनाउनेछन्। 

महिला विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकपका लागि ८ टोलीको टुङ्गो लागिसकेको छ। 

महिला विश्वकपमा आयोजक इङल्यान्ड, २०२४ महिला टी-२० विश्वकपमा ५ टोली अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजले स्थान बनाइसकेका छन्। 

यस्तै आईसीसी महिला टी-२० टिम वरीयताका आधारमा पाकिस्तान र श्रीलंका छनोट भइसकेका छन्। 

विश्वकपको समूह ए मा अस्ट्रेलिया, भारत, पाकिस्तान, दक्षिण अफ्रिका छन्। समूूह बी मा इङल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, वेष्ट इण्डिज छन्।
 
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। टी-२० विश्वकपको फाइनल ५ जुलाइमा हुनेछ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीः 
इन्दु बर्मा, रुविना क्षेत्री, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, कविता कुवँर, राजमति ऐरी, साना प्रविन, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुवि पोडार, पूूजा महतो
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad