खेल


‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित

‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित

नेपालखबर
पुस ४, २०८२ शुक्रबार २१:५८, कास्की

श्रीलङ्काको राजधानी कोलोम्बोमा हालै सम्पन्न वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शर्मिला शाह आज पोखरामा सम्मानित भएका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीले शाहलाई नेपालबाट प्रतियोगितामा सहभागी बनेर उपाधि जित्दै देशको नाम अन्तरराष्ट्रियस्तमा राख्न सफल भएकामा नगद रु २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो।

हिसानको १८औँ संस्करणको स्पोटर्टस मिटको उद्घाटन समारोहमा पोखरा महानगरपालिका–११ फूलबारी निवासी शाहलाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीलगायतले सम्मान गरे।

वर्ल्ड पावर लिफ्टिङ फेडेरेसनको आयोजना र श्रीलङ्का पावर लिफ्टिङ फेडेरेसनको संयोजनमा भएको प्रतियोगितामा शर्मिलाले ८४ केजी समूहमा नेपालका लागि स्वर्ण पदक जितेकी थिइन्। भारत, पाकिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, रसियालगायत देशका खेलाडी सहभागी भएको सो प्रतियोगितामा नेपाली खेलाडी शर्मिलाले महिलातर्फ उपाधि जित्न सफल भएकी थिइन्।

सम्मानित शाहले आफूले विश्व च्याम्पियन बन्न कठिन यात्रा पार गरेको बताउँदै हारबाट सिक्दै अघि बढेमा सफलता हात लाग्ने बताइन्।

उनले भनिन्, ‘पावर लिफ्टिङमा लागेको पाँच वर्षमै मैले वर्ल्ड च्याम्पियन उपाधि जित्न सक्छु भनेर सोचेकी पनि थिइनँ। आत्मविश्वासका साथ निरन्तर लागिपर्यो भने सकिँदोरहेछ। देशका लागि उपाधि जित्न पाउनु मेरा लागि गर्वको कुरा हो।’

पोखरा रङ्गशालामा आजदेखि सुरु भएको १८औँ हिसान स्पोटर्टस मिटको उद्घाटन कार्यक्रम पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा भएको हो। कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा तिवारीले बदलिँदो परिवेशसँगै खेलकुद क्षेत्र मुलुकको अर्थतन्त्रसँग समेत जोडिँदै गएको उल्लेख गर्दै यसको महत्व झनै बढ्दै गएको बताए।

‘विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा खेलकुद बनेको छ। भारत, चीनजस्ता ठूला देशहरूले खेलकुदलाई विशेष प्राथमिकतामा राखी अर्थतन्त्र सुदृढ बनाउने माध्यमका रूपमा अघि बढाएका छन्’ उनले भने।

नेपाली खेलकुदको जग बलियो बनाउन सबै सरोकारवाला पक्षको समान दायित्व रहेको जनाउँदै कुलपति तिवारीले गण्डकी विश्वविद्यालयले खेलकुदसम्बन्धी अध्ययन, अध्यापन गराउँदै आएकाले यसबाट खेल क्षेत्रमा आबद्ध युवापुस्ता लाभान्वित हुने विश्वास व्यक्त गरे। हिसान कास्कीका अध्यक्ष दीवाकार जैशीले स्पोर्टस् मिटमा हिसानमा आबद्ध ८० शैक्षिक संस्थाका चार हजार विद्यार्थी सहभागी रहेको जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad