घरेलु मैदानमा जारी साफ क्लब च्याम्पियनसिपमा नेपालको एपीएफ फुटबल क्लबले आज आइतबार पाकिस्तानको कराँची सिटी एफसीविरुद्ध खेल्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ। नेपालले आजको खेलमा जित हात पारे फाइनल यात्रा सहज हुनेछ। त्यसैले पनि एपीएफलाई उपाधि दौड बलियो बनाउन आजको खेल महत्वपुर्ण रहेको छ।
नेपालले आजको खेलमा बराबरी गरे वा हार भोगेको अवस्थामा लिग चरणको अन्तिम तथा अन्य टोलीको नतिजा समेत कुर्नुपर्ने हुन्छ। यस्तोमा एपीएफ आज जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ।
आजको खेलमा हार वा बराबरीले एपिएफले फाइनल पुग्नका लागि इस्ट बंगालसँगको खेल र बाँकी खेलको नतिजा कुर्नुपर्ने हुन्छ। यस्तोमा एपीएफसामु जितको विकल्प छैन।
लिग चरणको दुई खेल खेल्दा नेपालले ४ अंक जोडेको छ। ४ अंकसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ।
लगातार दुई खेलमा जित निकालेको भारतको इस्ट बंगाल एफसी ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
पाकिस्तानको कराँचीले ३ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। भुटानको ट्रान्सपोर्ट सँग पनि समान २ अंक छ। बंगलादेशको नसरिनको १ अंक छ।
च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा एपीएफले बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमीलाई ४–० ले हराउँदै सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने भु्टानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
लिग चरणको अन्तिम खेलमा नेपालले बुधबार भारतको इष्ट बंगाल एफसीविरुद्ध खेल्नेछ। राउण्ड रोविनको खेलपछि शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रका लिग च्याम्पियन क्लब सहभागी छन्।
Shares

प्रतिक्रिया