खेल


शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध

शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध

लक्ष्मी जि.सी
मंसिर २७, २०८२ शनिबार १८:१, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।

योसँगै फाइनलमा हार व्यहोरेको सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। 

जवाफी ब्याटिङ गरेको लुम्बिनीले ८६ रनको लक्ष्य नवौँ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। योसँगै लुम्बिनीले ६ विकेटकको शानदार जित निकाल्दै उपाधि जित्न सफल भएको छ। 

लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे। उनले १३ बलमा ४२ रनको पारी खेले। 

अर्का ओपनर डार्सी शटले १३ बलमा १४ रनको योगदान गरे भने नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए। त्यसैगरी कप्तान रोहित पौडेलले १२ बलमा १६ रन बनाए। सन्दिप जोरा भने शून्य रनमा आउट भए। 

लुम्बिनीका लागि अर्का नटआउट दिलिप नाथले १ रन बनाए। लुम्बिनीले २ अतिरिक्त रन पाएको थियो। 

बलिङतर्फ सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। सुदूरका लागि हेमन्त धामीको नाममा २ र अविनाश बोहराको नाममा १ विकेट रह्यो। 

खराब प्रदर्शनले गुम्यो उपाधि जित्ने अवसर
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४ बलअगावै ८५  रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा बनेको यो सबैभन्दा कम योगफल हो।

लगातार दोस्रो पटक उपाधि नजिक पुगेको सुदूरपश्चिम उपाधि उचाल्न चाहे पनि भाग्यले साथ दिएन। फाइनलमा सुदूरपश्चिमले सिजनकै खराब प्रदर्शन गर्‍यो। सुदूरपश्चिमले पावर प्लेमा ३ विकेट गुमाएर मात्र २० रन बनाएको थियो। सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए।

रोहितले एघारौँ ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई १३ रन बनाउँदा रुबेन ट्रम्पलम्यानको हातबाट क्याच आउट गराए।

सोही ओभरको पाँचौँ बलमा दीपक बोहोरालाई शून्य रनमा नै सन्दीप जोराको हातबाट क्याच आउट गराए। अन्तिम बलमा पुनित मेहरालाई शून्य रनमा एलबीडब्लु धरापमा पार्दै ह्याट्रिक विकेट लिए।

जारी एनपीएलमा ह्याट्रिक विकेट लिने रोहित दोस्रो खेलाडी हुन्। यसअघि काठमाडौंका साहब आलमले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट झारेका थिए।

खेलमा शेर मल्लले तीन विकेट आफ्‌नो नाममा गरे। उनले सुदूरपश्चिमका आरिफ शेख, हरमित सिंह र ईशान पाण्डेलाई आउट गरे। 

रुवेनले तिन  विकेट आफ्‌नो नाममा गरे। रुवेनले पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई शुन्य रनमा नै पेभेलियनको बाटो देखाए। तेस्रो ओभरको तेस्रो बलमा सेल्डन ज्याक्सनलाई एक रन बनाउँदा एलबीडब्लू धरापमा पारे। तिलक भण्डारीले एक विकेट झारे। 

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले ५१ बलमा १ चौका सहयोगमा बनाएको ३३ रन नै सर्वाधिक रह्यो। कप्तान ऐरीले १३ र हरमित सिंह र स्कट कुग्लेजिनले समान १० रन थपे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्‌।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad