खेल


चितवनविरुद्धको खेलमा पोखराको सान्त्वना जित

चितवनविरुद्धको खेलमा पोखराको सान्त्वना जित

तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर २०, २०८२ शनिबार १८:५०, काठमाडौँ

लिग चरणको अन्तिम खेलमा चितवन राइनोजलाई पराजित गर्दै पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुखद अन्त्य गरेको छ। 

शनिबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले चितवनलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो। लिग चरणमा तेस्रो जित निकाल्दै पोखरा पाचौँ स्थानमा रहेर एनपीएल यात्रा सकाएको छ। 

पोखराले तीन खेलमा जित र चार खेलमा हार भोग्दै ६ अंक जोडेको छ। एनपीएलको दुई संस्करणमा प्लेअफ नपुग्ने एक्लो टोली पोखरा मात्र हो। एनपीएलमा सहभागी बाँकी सात टोलीले प्लेअफ खेलिसकेका छन्। पोखरासँग पराजित भएपछि चितवन छैटौँ स्थानमा रहेको छ। 

चितवनले दिएको एक सय २१ रनको सामान्य लक्ष्य पोखराले दुई बल बाँकी रहँदा दुई विकेटको क्षतिमा भेट्टायो। अर्जुन कुमाल ४३ र जेसन रोय ६ रनमा नटआउट रहे। अर्जुनले ५३ बलमा दुई चौका र एक छक्का हाने। 

पहिलो विकेटका लागि ओपनर अर्जुन र एडम रोसिङटनले १४.२ ओभरमा शतकीय साझेदारी गरे। 

१५औँ ओभरको दोस्रो बलमा ओपनर रोसिङटन ४८ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ६५ रन बनाउँदा रिजन ढकालको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए।

कप्तान कुशल भुर्तेल चार रनमा सैफ जैबको बलमा रवि बोपाराको हातबाट क्याच आउट भए। 

त्यसअधि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा एक सय २० रनको योगफल तयार पारेको थियो। चितवनले तेस्रो ओभरको पहिलो बलमा सात रन बनाउँदा तीन विकेट गुमाएको थियो। 

चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। सैफ जैब १७ रन बनाउँदै पेभेलियन फर्के। ओपनर डेविड मलान पाँच तथा अर्जुन साउद र रवि बोपारा एक-एक रन बनाउँदै आउट भए। 

कप्तान कुशल मल्ल २३ रन बनाउँदा क्याच आउट नै हुन पुगे। अल्पेश रम्जानी ३३ र कमल ऐरी तीन रनमा नटआउट रहे। 

चितवनलाई कम स्कोरमा रोक्न पोखराका धनन्जय लक्षणले तीन विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान एक विकेट आफ्नो नाममा गरे। 

लिग चरणको अन्तिम खेलमा आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्नेछन्। प्लेअफबाट बाहिरिसकेका दुवै टोलीका लागि भोलिको खेल प्रतिष्ठाका लागि हुनेछ।

यो पनि पढ्नुहोस् : सुदूरपश्चिमको अपराजित यात्रालाई रोक्दै विराटनगर पहिलो क्वालिफायरमा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad