साहित्य


मनोज भट्टले ल्याए समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’

मनोज भट्टले ल्याए समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १९:१०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक भएको छ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित भीमकाय उपन्यास ‘कामरेड जलजला’ माथिको समीक्षात्मक कृतिका रुपमा भट्टले  ‘कामरेड जलजला उपन्यासको विवेचना’ बजारमा ल्याएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक समारोहमा ‘कामरेड जलजला’ उपन्यासका लेखक मोहनविक्रम सिंहले पुस्तक विमोचन गरेका हुन्। 

कार्यक्रममा लिखित मन्तव्य प्रस्तुत गर्दै सिंहले विवेचनात्मक पुस्तक प्रकाशन गरेकोमा भट्टलाई धन्यवाद दिए। ‘कमरेड जलजला’ पुस्तकमा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको सिंहको भनाइ थियो।

कार्यक्रममा भट्टको पुस्तकमाथि नेपाली कम्युनिस्ट पार्टीका नेता तथा साहित्यकार दीनानाथ शर्मा, नेकपा (एमाले)का उपमहासचिव तथा प्रगतिवादी साहित्यकार प्रदीप ज्ञवाली, भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट, नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ बाबा बस्नेतले टिप्पणी गरेका थिए। 

यस्तै, प्रगतिवादी समालोचक खेम थपलिया, समालोचक हरिप्रसाद सिलवाल, विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारती, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले पनि पुस्तकमाथि धारणा राखेका थिए। 

लेखक मनोज भट्ट।

कार्यक्रममा पुस्तकका लेखक भट्टले सक्षिप्त मन्तव्य राख्दै पुस्तकाकारमा आफ्नो पहिलो साहित्यिक कृतिमाथि धारणा राख्ने सबैप्रति आभार व्यक्त गरे। नेकपा (मसाल) का प्रवक्तासमेत रहेका रामप्रकाश पुरीको अध्यक्षता तथा प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष समीर सिंहको सञ्चालनमा अघि भएको कार्यक्रममा मीना पुनले स्वागत राखेकी थिइन्। 

कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अधिवक्ता एकनारायण भण्डारी, सीमाविद् तथा पत्रकार रतन भण्डारीलगायत लेखक, साहित्यकार र पाठकहरूको उपस्थिति रहेको थियो।

२६० पृष्ठको पुस्तकको मूल्य चार सय २५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad