खेल


दिपेन्द्रसिंह ऐरी ‘गड गिफ्ट’ हुन् : जगत टमाटा

दिपेन्द्रसिंह ऐरी ‘गड गिफ्ट’ हुन् : जगत टमाटा

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार २२:३, काठमाडौँ

सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक जगत टमाटाले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई भगवानको उपहारका रुपमा टिप्पणी गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार सुदूरपश्चिमले चितवन राइनोजलाई पराजित गर्दै पहिलो ‘क्वालिफायर’मा स्थान बनाएको छ। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दिपेन्द्रको प्रशंसा गरेका हुन्। 

दिपेन्द्रको प्रदर्शनबारे सोधिएको प्रश्नमा प्रशिक्षक टमाटाले दिपेन्द्र जस्तो खेलाडी जन्माउन गाह्रो हुने प्रतिक्रिया दिए। ‘दिपेन्द्रलाई सलाम गर्छु। उसलाई मैले अन्डर १९ देखि नै हेरेको हो। उसमा जुन इनर्जी छ, त्यो अर्कै स्तरको छ,’ उनले थपे, ‘गड गिफ्ट नै भन्छु। त्यस्तो खेलाडी जन्मिन धेरै गाह्रो पर्छ।’

दिपेन्द्रको कप्तानीको जति प्रशंसा गरे पनि कमै हुने उनको भनाइ थियो। ‘कप्तानीमा जति नै तारिफ गरे पनि कम हुन्छ,’ उनले भने। 

फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको उनको भनाइ थियो। ‘नेपालका लागि विश्वस्तरीय फिल्डर हो। आज पनि उनले डेविड मलानलाई रन आउट गराएर खेलको मोमेन्टम नै चेन्ज गर्यो,’ टमाटाले भने। 

सुदूरपश्चिमको टोलीमा सबैले राम्रो खेलिरहेको उनको भनाइ थियो। जसलाई जुन भूमिका दियो, त्यही भूमिका निर्वाह गरिरहेको उनले बताए। सुदूरपश्चिमको बलियो पक्षबारे सोधिएको प्रश्नमा प्रशिक्षक टमाटाले भने, ‘अहिलेसम्म हाम्रो बलिङ नै बलियो देखिएको छ। तर म भन्छु, हाम्रो ब्याटिङ र बलिङ दुवै सन्तुलित छ।’

अझै नेपाली खेलाडीको प्रदर्शनले खुशी बनाएको उनको भनाइ थियो। विदेशी र घरेलु खेलाडीबीच तालमेल मिलेको बताउँदै टमाटाले भने, ‘एनपीएलमा नेपाली खेलाडीले नै राम्रो प्रदर्शन गर्ने हो, विदेशी खेलाडी आएर सपोर्ट गर्ने हो।’

उनले सुदूरपश्चिमका समर्थकलाई धन्यवाद दिए। देश तथा विदेशबाट भइरहेको समर्थनले सुदूरपश्चिमको टोलीको हौसला बढिरहेको उनको भनाइ थियो। प्रशिक्षक टमाटाले भने, ‘म मेरो व्यक्तिगत र टिमको तर्फबाट देश तथा विदेशमा रहेका सबै समर्थकलाई धन्यवाद दिन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad