खेल


विराटनगरसँग बदला लिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आशा

विराटनगरसँग बदला लिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आशा

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर १७, २०८२ बुधबार १९:२२, काठमाडौँ

डि आर्सी सर्टको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ‘प्लेअफ’ नजिक पुगेको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार साँझ लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीको प्लेअफको सम्भावना जिवित राखेको हो। गत सिजनमा पहिलो खेलमा विराटनगरले लुम्बिनीलाई पराजित गरेको थियो। त्यसपछि लुम्बिनीले लय गुमाएको थियो। 

यो हारसँगै विराटनगरको ‘प्लेअफ’को पुग्ने बाटो लम्बिएको छ। लिग चरणमा विराटनगरले भोगेको यो दोस्रो हार हो। यसअघि विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो। 

विराटनगर ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा हार भोग्दै आठ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा यथावत छ। विराटनगरले लिग चरणको आफ्नो अन्तिम खेलमा शीर्षथानको सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ। विराटनगर र सुदूरपश्चिमको खेल शनिबार हुनेछ। 

लिग चरणमा तेस्रो जित निकालेको लुम्बिनीले अंक तालिकामा ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। चार अंक भएको पोखरा पाचौँ स्थानमा झरेको छ। लुम्बिनीको जितले पोखरा, चितवन र जनकपुरको प्लेअफ सम्भावना थप कठिन बनेको छ। 

लिग चरणको पहिलो खेलमा पोखरासँग तीन विकेटको जित निकालेपछि लुम्बिनीले लगातार तीन खेलमा हार व्यहोरेको थियो। लुम्बिनीले दोस्रो खेलमा सुदूरपश्चिमसँग सात विकेटले तथा काठमाडौँसँग २२ रनले र कर्णालीसँग नौ विकेटको हार व्यहोरेको थियो। 

लुम्बिनीले अघिल्लो खेलमा चितवनलाई ६ विकेटले हराउँदै लिगमा दोस्रो जित निकालेको थियो। लुम्बिनीले तीन खेलमा जित र तीन खेलमा हार भोगेको छ। अब प्लेअफको स्थान पक्का गर्न जनकपुर बोल्टससँगको खेल जित्नुपर्नेछ। लुम्बिनी र जनकपुरको खेल शुक्रबार हुनेछ। 

बुधबार विराटनगरले दिएको एक सय ४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा भेटटयो। लुम्बिनीका ओपनर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान दिए। ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका सर्ट सन्दीप लामिछानेको बलमा लोकेश बमको हातबाट क्याच आउट भए। उनले ३९ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा अर्धशतक पूरा गरे। 

१५ बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन बनाएका सन्दीप जोरा सन्दीप लामिछानेको बलमा एलबीडब्लूको धरापमा परे। 
निरोसन डिकवेल्ला २९ र शेर मल्ल एक रनमा अविजित रहे। सुमित महर्जन १० रन बनाउँदा सुवास भण्डारीको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे। तीन बलको सामना गरेका कप्तान रोहित पौडेल सुवासकै बलमा फाफ डु प्लेसिसको हातबाट क्याच आउट भए। 

विराटनगरका लागि सुवास भण्डारीले दुई विकेट लिए। पाचौँ ओभरमा बलिङमा आएका सुवासले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै लुम्बिनीलाई दबाबमा राखेका थिए।

सुवासले पाचौँ ओभरको पहिलो बलमा सुमित महर्जनलाई र चौथो बलमा रोहितलाई पेभेलियनको बाटो देखाए। जारी एनपीएलमा पहिलो पटक बलिङ गरेका सुवासले पहिलो बलमा नै विकेट लिन सफल भए। 

त्यस्तै, विराटनगरका लागि सन्दीप लामिछानेले दुई विकेट झारे। सन्दीपले आफ्नो स्पेलमा २० रन दिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार पहिले ब्याटिङ गरेको विराटनगरले आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो। लोकेश बमले बनाएको ३५ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४२ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाउँदा जेजे स्मिथको बलमा कट एन्ड बोल्ड हुन पुगे। 

त्यस्तै, बसिर अहमद २८ रन बनाउँदा क्याच आउट भए। साम हेजलेट २७ रन थप्दै आउट भए। फा डु प्लेसिस १२ रन बनाउँदा अविशेष गौतमको बलमा विकेटकिपरको हातबाठ आउट भए। 

प्रतिश जिसी ११ रन बनाउँदा रनआउट हुन पुगे। ओपनर जर्ज मुन्से शून्य र नारायण जोशी पाँच रनमा शेर मल्लको बलमा एलबीडब्लूको धरापमा परे। 

लुम्बिनीका लागि शेर मल्लले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा २५ रन खर्चे। जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र अविनास बोहराले एक–एक विकेट लिए। 

एनपीएलमा बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौ गोर्खाज र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोेयल्स भिड्नेछन्। यी खेलको नतिजाले एनपीएलको प्लेअफ समिकरण रोचक हुनेछ। 

बिहीबार पहिलो खेलमा काठमाडौैँ पोखराविरुद्ध मैदानमा उत्रिँदा लिग चरणको आफ्नो अन्तिम खेल खेल्नेछ। लिगमा ६ खेल खेलेको काठमाडौँले चार खेलमा जित र दुई खेलमा हार भोग्दै आठ अंक बनाएको छ। 

पोखरा भने लिग चरणमा आफ्नो छैटौँ खेल खेल्नेछ। दुई खेलमा जित र तीन खेलमा हार भोगेको पोखरा चार अंकमा तालिकाको चौथो स्थानमा छ। 

बिहीबारको दोस्रो खेलमा चितवन र सुदूरपश्चिम रोेयल्स भिड्नेछन्। चितवन र सुदूरपश्चिम लिगको छैटौँ खेल खेल्नेछन्। चितवनविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम अपराजित रहेर पहिलो क्वालिफायरमा स्थान बनाउने योजनामा हुनेछ। सुदूरपश्चिमले पाँच खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ। 

चितवन भने तेस्रो जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। चितवनले दुई खेलमा जित र तीन खेलमा हार भोग्दै चार अंक बनाएको छ।

कसको कति अंक? 

एनपीएलमा सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरिसक्दा कर्णाली याक्स भने एक खेल अगावै लिग चरणबाटै बाहिरिएको छ। लिगमा अपराजित रहेको सुदूरपश्चिमले पाँच खेलबाट १० अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ। 

सुदूरपश्चिमभन्दा एक खेल बढी खेलेको काठमाडौँले चार खेलमा जित र दुई खेलमा हार भोग्दै आठ अंकमा दोस्रो स्थानमा छ। समान ६ खेलबाट समान नतिजा भएको विराटनगर किंग्स आठ अंकमा तेस्रो स्थानमा छ। 

६ खेलमा तीन खेलमा जित र तीन खेलमा हार भोगेको लुम्बिनी ६ अंकमा तालिकाको चौथो स्थानमा उक्लेको छ। दुई खेलमा जित र तीन खेलमा हार भोगेको पोखरा एभेन्जर्स भने चारसहित अंकमा पाचौँ स्थानमा झरेको छ। समान खेलबाट समान नतिजा ल्याएको चितवन चार अंकमा छैटौँ स्थानमा झरेको छ।

त्यस्तै, ६ मध्ये एक खेलमा जित र पाँच खेलमा हार भोगेको कर्णाली दुई अंकसहित सातौँ स्थानमा छ। पाँच खेलमा हार र एक खेलमा मात्र जित निकालेको साविक विजेता जनकपुर दुई अंकसहित तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad