नेपाली सेनाका बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमाण्डर नियुक्त भएका छन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार लेफ्टिनेन्ट जनरल श्रेष्ठलाई संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बल अबेईका लागि आफ्नो नयाँ फोर्स कमाण्डरको रूपमा नियुक्त गरेको घोषणा गरेका हुन्।
घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सम्पन्न भएपछि श्रेष्ठ उक्त पदमा नियुक्त भएका हुन्।
रथी श्रेष्ठ फोर्स कमाण्डर नियुक्त भएको पुष्टि गर्दै सैनिक प्रवक्ता राजाराम बस्नेतले आधिकारिक पत्र भने आउन बाँकी रहेको बताए। रथी श्रेष्ठले नेपाली सेनामा ३६ वर्ष सेवा गरिसकेका छन्।
संयुक्त राष्ट्र शान्ति मिसनमा पनि उनको अनुभव छ। संयुक्त राष्ट्र संघकै मिसनमा दक्षिण सुडानमा यसअघि पूर्वी क्षेत्रीय कमाण्डरको रुपमा काम गरिसकेका छन्।
२०८० साउन ३० गते उपरथीमा बढुवा भएका श्रेष्ठ सुदूरपश्चिम पृतनाको पृतनापति र सम्हार रथी विभागको प्रमुख पनि भइसकेका छन्।
यस्तै वीरेन्द्र सैन्य अस्पतालको प्रशासनिक रजिस्ट्रार, नेपाली सेना मुख्यालयमा नीति तथा योजना निर्देशक, १६ र ९ ब्रिगेडको ब्रिगेड कमाण्डर भएर पनि काम गरिसकेका छन्।
श्रेष्ठ चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर हासिल गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अर्थशास्त्रमा स्नातकोत्तर र मानविकी तथा समाज शास्त्रमा स्नातक गरेका छन्।
गएको असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो। रथी बनेसँगै श्रेष्ठले बलाध्यक्ष रथीको जिम्मेवारी पाएका थिए।
असोज २५ गतेबाट बलाधिकृत रथी निर्मलकुमार थापा अनिवार्य अवकाशमा गएका थिए। रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि श्रेष्ठ रथीमा बढुवा भएका थिए। थापा पनि लामो समय यूएनकै फोर्स कमाण्डर थिए।
श्रेष्ठ यूएनको फोर्स कमाण्डर बन्ने ८ औँ नेपाली सैनिक हुन्। दुई रथीको दरबन्दी रहेको नेपाली सेनामा बलाधिकृत रथीमा प्रदीपजंग केसी कार्यरत छन्।
Shares

प्रतिक्रिया