चितवन राइनोजका ब्याटर देव खनालले साझेदारी गर्न नसक्दा आफ्नो टोलीले हार ब्यहोर्नु परेको बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार चितवन काठमाडौँ गोर्खाजसँग ५३ रनले पराजित भएको छ। काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा चितवन ८९ रनमै समेटिएको हो।
खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चितवनका ब्याटर देव खनालले साझेदारीको अभाव भइरहेको बताए। ‘साझेदारी गर्न सकिएको छैन। आज पनि कतै न कतै बीचमा ५० रनको साझेदारी चाहिन्थ्यो,’ उनले भने, ‘हामीले साझेदारी गर्न सकेनौं र हार्यौं।’
एउटा साझेदारीले पनि खेललाई जितसम्म लग्न सक्ने उनको भनाइ थियो। मिलिन्द कुमार र जोन सिमसनको साझेदारीले काठमाडौँलाई उकासेको उनले बताए।
उनको व्यक्तिगत प्रदर्शनका विषयमा सोधिएको प्रश्नमा दबाबविना खेलिरहेको बताए। ‘म सहज रुपमा खेलिरहेको छु,’ देवले भने, ‘मैले फिनिस गर्नुपर्छ। अरुमाथि छोड्नुभन्दा पनि म नै खेल्नुपर्छ। अब त्यस्तै गर्छु।’
चितवनका अब तीन खेल बाँकी छन्। चितवन मंगलबार जनकपुर बोल्टस, बिहीबार सुदूरपश्चिम रोयल्स र शनिबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।
Shares

प्रतिक्रिया