खेल


साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

साविक विजेता जनकपुरको लगातार तेस्रो हार, पोखराको पहिलो जित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर ११, २०८२ बिहिबार १९:२०, काठमाडौँ

साविक विजेता जनकपुर बोल्टसले लगातार तेस्रो हार ब्यहोरेको छ भने पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको हो। योसँगै जनकपुरको तेस्रो खेलमा पराजित भएको छ। जारी एनपीएलमा एउटा पनि खेल नजित्ने टोली जनकपुर मात्रै हो। 

जनकपुर एनपीएलको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ विकेटले पराजित भएको थियो। 

पोखराले भने लगातार दुई हारपछि जित निकालेको छ। यसअघि पोखराले पहिलो खेलमा विराटनगरसँग् ५३ रन र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेटको क्षतिमा १३० रन मात्रै बनायो। 

जनकपुरलाई सस्तैमा रोक्न विपिन खत्रीले चार विकेट लिए। उनले आफ्नो स्पेलमा १५ रन खर्चे। विपिनले पहिलो ओभरमा नै दुई विकेट लिँदै जनकपुरलाई दबाबमा राखेका थिए। 

सुमित बर्माले दुई विकेट आफ्नो नाममा गरे। कुशल भुर्तेल र जिम्मी निसमले समान एक विकेट झारे। 

जनकपुरका लागि वायने पर्नेलले बनाएको ५० रन सर्वाधिक बन्यो। उनले ३८ बलमा दुई चौका र चार छक्काको सहयोगमा अर्धशतक पूरा गर्दै रिटायर्ड आउट भए। 

जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले २५ रन बनाए। माज सदाकतले २० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ६  विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो। जनकपुरविरुद्ध राम्रो सुरुवात गरेको पोखराको मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा जनकपुरविरुद्ध विशाल योगफल तयार पार्न असफल बन्यो। 

पोखरा एक समय ८.३ ओभरमा एक विकेटको क्षतिमा ६१ रनको अवस्थामा थियो। पोखराले चार रन बनाउन चार विकेट गुमाएको थियो। 

तृतराज दास २९ रन बनाउँदा रनआउट भए। सुमित बर्मा ५० र किरण ठगुन्ना एक रनमा अविजित रहे। सुमितले २८ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। 

पोखराका ओपनर दिनेश खरेल ३८ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दा ३८ रनमा  अनिल शाहको बलमा माज सदाकतको हातबाट क्याच आउट हुन पुगे। 

अर्का ओपनर आडम रसिङटोन २४ रन बनाउँदा सञ्जय कृष्णमूर्तिको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याच आउट भए। डान डाउथवेट सात रन थप्दै आउट भए। कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए। जिम्मी निसम एक रनमा आउट भए। 

जनकपुरका लागि सञ्जय कृणमूर्तिले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा २१ रन खर्चे। अनिल साह र ललित राजवंशीले एक-एक विकेट लिए। 

एनपीएलमा शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्नेछन्। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। 

लिगमा चौथो खेल खेल्न लागेको चितवन तेस्रो जितको खोजीमा हुनेछ। लिग चरणमा पाचौँ खेल खेल्न लागेको काठमाडौँ तेस्रो जितको खोजीमा हुनेछ। चितवन र काठमाडौँको अंक तालिकामा समान चार अंक छ। प्लेअफ सम्भावना जिवित राख्न दुवै टोलीलाई जित्नै पर्ने दबाब छ। 

शुक्रबार दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्नेछन्। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ। 

प्लेअफ खेल्ने सम्भावना कायम राख्न कर्णालीलाई जित आवश्यक छ। कर्णाली पराजित भएमा प्लेअफ सम्भावना थप कमजोर हुनेछ। 

विराटनगर भने कर्णालीलाई हराउँदै चौथो जितसँगै प्लेअफ नजिक पुग्न चाहन्छ। तीन खेलमा जित र एक खेलमा हार भोगेको विराटनगर ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। कर्णालीले भने दुई खेलमा हार र एक खेलमा जित निकाल्दै दुई अंकसहित तालिकाको पाचौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad