अघिल्लो वर्ष पोखरा महानगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार नगद अनुदान दिने घोषणा गर्दा जम्मा ५ सय ७० जनाले मात्र आवेदन बुझाएका थिए। तीमध्ये ५ सय ५० जना किसानलाई महानगरले गएको वैशाखमा नगदसहित सम्मानित गरेको थियो।
कृषिमै आश्रित स्याङ्जाको फेदीखोला गाउँपालिकाले गरेको यस्तै घोषणाअन्तर्गत गएको असारमा जम्मा २ सय २४ जनाको गोठमा मात्र हलगोरु भेटिएका थिए। पोखरा र स्याङ्जामामात्र हैन, पछिल्लो समय देशैभर हलगोरु पाल्ने किसान घटेका छन्। भकारोमा एउटा गोरु पालेर ‘परेली’लगाउने चलन पनि हराउन थालेको छ।
कारण, कृषिमा आश्रित जनशक्ति विस्तारै घट्दै गएको छ भने अर्कोतर्फ गाउँगाउँमा हाते ट्रयाक्टर पुगेको छ। हाते ट्रयाक्टरले नै खेतबारी जोत्ने भएपछि गोरु कसले पालोस्? पहाडी क्षेत्रमा खेत जोत्न जुरो भएको रैथाने जातको गोरु पाल्नुपर्छ। जुरो नभएको गोरुको काँधमा जुवा राख्न पनि मिल्दैन। गाउँगाउँमा उन्नत जातका गाई पुगेपछि गाईको रैथाने जात हराएका छन्। यसको असर गोठसम्म पुगेको छ।
धान नेपालको प्रमुख बाली हो। कुनै समय धान भित्र्याउने कर्म उत्सव नै हुन्थ्यो। जग्गा जमिन हुनेहरूले धान भित्र्याउँदा बाजागाजा नै बजाउँथे। अन्नकी देवीलाई धूप हालेपछि तामाको पाथीले थान भर्थे। ‘फलानाले यति मुरी धान भित्र्यायो’ भन्ने कुरा अर्को गाउँसम्म पनि पुग्थ्यो। समय बदलिएको छ। गाई र गोरु पाल्ने नै घट्दै जाँदा नयाँ पुस्ताले चाहिँ हलो–जुवा,अनौं, हरिसजस्ता जोत्दा प्रयोग हुने सामानको नाम नै सुन्न छाडेका छन्।
जोतेकै नदेखेपछि खलो, मियो,कुन्यू अनि दाइँबारे उनीहरूले कसरी थाहा पाउन्र? ‘गोरुबिनाको दाइँ’ वा ‘मियोबिनाको दाइँ’ भन्ने उखान पनि कसरी सुनून्? खेत ट्रयाक्टरले जोत्छ। धानको कुन्यू लगाएको देखेका उनीहरूले पराल माड्ने काम पनि ट्रयाक्टरले नै गरेको चाहिँ देखेका छन् कि!
देखेका छैनन् भने पनि केही छैन, पोखरामा नयाँ पुस्तालाई दाइँबारे जानकारी दिन तथा यो मौलिक परम्परामार्फत् पर्यटन प्रवद्र्धनका लागि ‘दाइँ महोत्सव’ नै हुने भएको छ। पोहोर सालदेखि पोखरा पर्यटन परिषद्ले सुरु गरेको महोत्सवको दोस्रो संस्करण यही शनिबार पोखरा १९ पुरञ्चौरको चुरुङ्गामा हुने भएको छ। ४ वटा धानका कुन्यू रहेको सो स्थलमा १० भन्दा बढी गोरुले दाइँ गर्नुका साथै धान ठटाउने, बत्ताउने, पराल माड्ने, धानको रास बनाउने र अन्त्यमा धान भर्ने अनि थन्क्याउने कर्म गरिने छ।
हरेक वर्ष रोपाइँ महोत्सव गर्दै आएको आयोजक संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार दाइँको दँदेरे र पर्यटकलाई पराल ओच्छ्याएर खाजा र खाना दिइने छ। खेतमै खाना पकाइने छ। दाइँबारे जानकारी दिन पोखरामा रहेका पर्यटकको अलावा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पनि त्यहाँ लगिने उनले जानकारी दिए।
महोत्सवको अवसरमा उत्कृष्ट धान उत्पादन गर्ने किसानलाई नगद १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजारसहित पुरस्कृत गरिने परिषदका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिए। उनका अनुसार महोत्सवमा उत्कृष्ट गोरु पालक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगितासमेत राखिएको छ।
Shares

प्रतिक्रिया