खेल


निरजकुमार यादवको शतकमा साउदीमाथि नेपालको प्रभावशाली जित

निरजकुमार यादवको शतकमा साउदीमाथि नेपालको प्रभावशाली जित

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १८:२५, काठमाडौँ

ओपनर निरजकुमार यादवको शतक सहयोगमा नेपाली युवा टोलीले युएईमा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। 

युएईको अजमानमा मंगलबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै प्रिमियर कपमा पहिलो जित दर्ता गरेको हो। नेपालले पहिलो जित हात पारेको दिन साउदीले भने लगातार दोस्रो हार व्यहोरेको हो। 

साउदीले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर निरज यादव र निश्चल क्षेत्रीले १ सय ५५ रनको साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो। 

ओपनर निरजले ९० बलमा १३ चौका र १ छक्का सहयोगमा १ सय १४ रनको महत्वपूर्ण योगदान दिए। अर्का ओपनर वंश क्षेत्रीले २० बलमा ४ चौका र १ छक्का सहयोगमा ३० रन थपे। निश्चल क्षेत्री ६६ र सिवरिन श्रेष्ठ १ रनमा अविजित रहे। 

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको साउदीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय १८ रनको योगफल तयार पारेको थियो। नेपालका लागि अशोक धामीले २ विकेट झारे। दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिरविन श्रेष्ठ र दर्स सोनारले समान एक विकेट आफ्नो नाममा गरे। 

पहिलो जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ २ अंकमा दोस्रो स्थानमा छ। 

समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले बिहीबार हङकङसँग खेल्नेछ। सो खेल जितेमा नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। 

प्रिमियर कपमा सहभागी १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

सेमिफाइनलका विजेता टोलीले उपाधिका लागि भिड्नेछन्। पराजित हुने टोलीले तेस्रो स्थानमा लागि खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad