खेल


हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर ३, २०८२ बुधबार १९:३१, काठमाडौँ

हरमित सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौँका ब्याटर निरिह सावित भए। 

काठमाडौँले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ। काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले पराजित गरेको थियो। 

सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौ १६.५ ओभरमा एक सय १८ रनमा अलआउट भयो। काठमाडौँका प्रारम्भिक ब्याटर आकाश त्रिपाठी ३४ रन बनाउँदा क्याच आउट हुन पुगे। आकाशले ३० बलमा एक चौका र दुई छक्का सहयोगमा ३४ रन बनाउँदा हरमित सिंहको बलमा क्याच आउट भएका थिए। 

त्यस्तै, १८ बलमा दुई चौका र एक छक्का सहयोगमा २५ रन बनाएका जोन सिमसन ईशान पाण्डेको बलमा एलबीडब्लुको धरापमा परे। भीम सार्की १२ रन बनाउँदा हेमन्त धामीको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए। मिलिन्द कुमार ११ रनमा आउट भए। 

बेन चाल्सवर्थ आठ र सन्तोष यादव एक रनमा आउट भए। आदिल आलम डकआउट भए। कप्तान करण केसीले एक रन मात्रै बनाए। 

सुदूरपश्चिमका लागि हेमन्त धामी, हरमित सिंह र स्कट कुग्लेनिजले दुई-दुई विकेट लिए। ईशान पाण्डे, अविनास बोहोरा र नरेन साउँदले एक-एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सबै विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो। 

पहिलो ओभरमै दुई विकेट गुमाएको सुदूरपश्चिम सुरुवातबाटै दबाबमा परेको थियो। सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरी र हरमित सिंहले २५ बलमा ६१ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक स्कोर बनाएको हो। 

हरमित सिंहले १९ बलमा अर्धशतक बनाए। २० बलमा दुई चौका ६ छक्का सहयोगमा ५३ रन बनाएका हरमित सन्नी पटेलको बलमा साहब आलमको हातबाट क्याच आउट भए। 

दिपेन्द्र ३९ रन बनाउँदा रसिद खानको बलमा आदिल आलमको हातबाट क्याच आउट हुन पुगे। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे। 

त्यसअघि दशौँ ओभरको अन्तिम बलमा दिपेन्द्रले जीवनदान पाएका थिए। १२ रन बनाउँदा उनले प्रहार गरेको बल समात्न खोज्दा रसिद खान र साहब आलम एक-आपसमा ठोक्किएपछि क्याच छुटेको थियो। 

सुदूरपश्चिम एक समय ६ ओभरमा चार विकेट गुमाएर २७ रनमा थियो। काठमाडौँका कप्तान करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। करणले सुरुवाती दुई ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। आरिफ शेख २५ रन बनाउँदा रसिद खानको बलमा एलबीडब्लु धरापमा परे। 

सुदूरपश्चिमका ओपनर जस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए। क्रिस लिन दुई रन बनाउँदा करण केसीकै बलमा मिलिन्द कुमारको हातबाट क्याच आउट हुन पुगे। 

ईशान पाण्डे ११ रन बनाउँदा मिलिन्द कुमारको बलमा मोहम्मद आदिल आलमको हातबाट क्याच आउट हुन पुगे। नरेन साउँद ६ रन बनाउँदा मिलिन्द कुमारको बलमा भीम सार्कीको हातबाट क्याच आउट भए। स्कट कुग्लेजिन एक रन बनाउँदा सन्नी पटेलको बलमा बोल्ड आउट भए। 

इनिङ्सको अन्तिम बलमा अविनास बोहरा एक रनमा बोल्ड आउट भए। हेमन्त धामी तीन रनमा अविजित रहे। 

काठमाडौका लागि करण केसीले चार विकेट लिए। मिलिन्द कुमार, रसिद खान र सन्नी पटेलले  दुई-दुई विकेट लिए। 

आजको खेलमा हरमित प्लेयर अफ दि म्याच भए। काठमाडौँविरुद्ध अलराउण्ड प्रदर्शन गरेका हरमितले सुदूरपश्चिमलाई कठिन अवस्थाबाट उकासेका थिए। 

उनले २० बलमा दुई चौका र ६ छक्का सहयोगमा ५३ रनको महत्त्वपूर्ण योगदान दिएका थिए। बलिङतर्फ उनले आफ्नो स्पेलमा २१ रन खर्चेर दुई विकेट लिएका थिए। 

एनपीएलमा बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन्। लुम्बिनी चितवनसँग खेल्दै एनपीएलको सुरुवात गर्नेछ। चितवन भने लगातार दोस्रो जितको खोजीमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad