वेस्ट इन्डिज विरुद्धको अन्तिम खेलमा प्रभावशाली जित निकाल्दै न्यूजिल्यान्डले टी-२० शृंखला जितेको छ।
डुनिडनमा बिहीबार भएको पाँचै खेलमा न्यूजिल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको १४१ रनको लक्ष्य न्यूजिल्यान्डले दुई विकेटको क्षतिमा १५.४ ओभरमै पूरा गरेको हो।
न्यूजिल्यान्डका लागि डेभोन कन्भेले ४७, टिम रोबिसनले ४५, रचिन रविन्द्र र मार्क च्यापम्यानले २१-२१ रन बनाए। वेस्ट इन्डिजका लागि रोमारियो सेफर्ड र समर स्प्रिंगरले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले १८.४ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो। वेस्ट इन्डिजका लागि रोस्टन चेसले ३८, म्याथ्यु फोर्डले ३६ र जसन होल्डरले २० रन बनाए। न्यूजिल्यान्डका लागि ज्याकोब डफीले चार र जेम्स निशमले दुई विकेट लिए।
यो जितसँगै पाँच खेलको टी-२० शृंखलालाई न्यूजिल्यान्डले ३-१ ले जितेको हो। पहिलो खेल वेस्ट इन्डिजले जितेको थियो भने त्यसपछिका दुई खेल न्यूजिल्यान्डले जितेको थियो। चौथो खेल वर्षाले गर्दा अवरुद्ध भएको थियो भने आज पाँचौ खेल पनि न्यूजिल्यान्डले जितेको हो।
Shares

प्रतिक्रिया