खेल


कस्ता छन् त एनपीएलका ८ टोलीका मुख्य प्रशिक्षक?

कस्ता छन् त एनपीएलका ८ टोलीका मुख्य प्रशिक्षक?

लक्ष्मी जि.सी
कात्तिक २२, २०८२ शनिबार ६:५५, काठमाडौँ

एनपीएल नजिकिँदै गर्दा सहभागी क्लबहरू तयारीमा व्यस्त छन्। जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स र कर्णाली याक्स- यी ८ टोलीहरूले यस संस्करणमा सहभागिता जनाउनेछन्।

तर, रोचक कुरा के छ भने क्लबहरू अहिले पनि मार्की र मुख्य खेलाडीबिनै अभ्यासमा जुटिरहेका थिए। खेलाडीहरू हालै मात्र यूएईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग-२ बाट बिहीबार राति फर्किएका छन्। उनीहरूको आगमनसँगै टोलीहरू अब पूर्ण प्रशिक्षणमा केन्द्रित हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान)ले यसपटकको एनपीएललाई अझ आकर्षक बनाउन केही नयाँ प्रयोगहरू गर्न लागेको छ। यो संस्करण डे र नाइट फर्म्याटमा सञ्चालन हुनेछ। यसले खेललाई नयाँ आयाम दिने र दर्शकहरूको सहभागिता बढाउने अपेक्षा गरिएको छ।

एनपीएल २०८२ मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। युवा खेलाडीका लागि यो प्लेटफर्म आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर हो भने अनुभवी खेलाडीका लागि आफ्ना क्लबलाई जित दिलाउने जिम्मेवारी हो। क्लबहरू विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन्।

एनपीएलका लागि कति टोलीले पुराना प्रशिक्षकलाई नै दोस्रो संस्करणमा निरन्तरता दिएका छन्। केही टोलीले भने नयाँ प्रशिक्षक अनुबन्ध गरेका छन्।

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

पहिलो संस्करणमा जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए। दासानायके हाल अमेरिकाको टोलीमा व्यस्त छन्। काठमाडौँ गोर्खाजले भने दोस्रो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाइलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पहिलो संस्करणमा काठमाडौँको मुख्य प्रशिक्षकको जिम्मेवारी वसन्त शाहीले पाएका थिए। आज हामीले एनपीएलको दोस्रो संस्करणका कुन टोलीमा कस्ता प्रशिक्षक आएका छन् भनेर चर्चा गरेका छौँ।

शिवनारायण चन्द्रपाउल, जनकपुर बोल्ट्स

गत सिजनको च्याम्पियन टोली जनकपुर बोल्टसले यो संस्करण मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई नियुक्त गरेको छ।

अघिल्लो सिजन सुदुरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुरले दोस्रो संस्करणमा पनि उपाधि जित्ने लक्ष्य लिएको छ।

एनपीएलको पहिलो संस्करणमा टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक दासानायके अहिले अमेरिकाका प्रमुख प्रशिक्षक छन्।

चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चन्द्रपाउलसँग क्यारेबियन प्रिमियर लिग (सिपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टि ट्वान्टी र इन्डियन प्रिमियर लिगको अनुभव छ। 

सन् २०२२ मा चन्द्रपाउलले अमेरिकाको महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए।

जगत टमाटा, सुदूरपश्चिम रोयल्स

अघिल्लो संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा प्रशिक्षण गरिरहेको छ।

अघिल्लो सिजन टमाटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले यो सिजन पनि उनलाई नै निरन्तरता दिएको छ। टमाटासँग सिनियर राष्ट्रिय महिला-पुरुष टोलीदेखि लिएर उमेर समूहको टोलीको मुख्य प्रशिक्षकको अनुभव समेत रहेको छ। सफल प्रशिक्षकको छवि बनाएका टमाटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिम योपटक उपाधि उचाल्ने लक्ष्यमा छ।

कलाम अली, चितवन राइनोज

चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि कलाम अलीलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ। अघिल्लो सिजन चितवन उमेश पटवालको प्रशिक्षणमा रहेको थियो। सो समयमा अली सहायक प्रशिक्षकमा थिए। तर चितवनले यो सिजन अलीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको हो।

बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षकसमेत रहेका अलीको नेतृत्वमा चितवनले एनपीएलमा उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य राखेको छ।

पहिलो संस्करण प्लेअफसम्मको यात्रा तय गरेको चितवन एलिमिनेटर खेलमा कर्णाली याक्ससँग पराजित हुँदै चौँथो स्थाानमा रहेर यात्रा टुङग्याएको थियो।

ज्ञानेन्द्र मल्ल, कर्णाली याक्स

कर्णाली याक्सले एनपीएलको दोस्रो सिजनमा पनि ज्ञानेन्द्र मल्ललाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।

मल्ललाई कर्णालीले आगामी एक वर्षका लागि सम्झौता गरेको छ। मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका टोलीका पूर्वकप्तानसमेत हुन्। मल्लको प्रशिक्षणमा कर्णालीले शीर्ष चारमा रहँदै प्लेअफ सम्मको यात्रा तय गरेको थियो।

यो सिजन पनि मल्लको प्रशिक्षणमा कर्णालीले उपाधि जित्ने लक्ष्यमा रहेको छ।

मोन्टी देसाई, काठमाडौं गोर्खाज

राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाइलाई योपटक काठमाडौं गोर्खाजले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

एनपीएलको पहिलो संस्करण वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको काठमाडौँले यो पटक देसाइलाई जिम्मेवारी दिएको हो। गत सिजनका मुख्य प्रशिक्षक शाही योपटक प्रशिक्षकको भूमिकामा काठमाडौँमा नै रहेका छन्।

नेपाली टोलीको जिम्मेवारी सम्हालेका कारण मुख्य प्रशिक्षक देसाइलाई नेपाली खेलाडीका बारेमा राम्रोसँग थाहा छ।

काठमाडौँको मुख्य प्रशिक्षक नियुक्त भएपछि देसाइले नेपाल आफ्नो मनमा विशेष रहेको बताएका थिए। पहिलो सिजन काठमाडौं ७ मध्ये ४ खेलमा जित निकालेर पाँचौं स्थानमा रहेको थियो।

विराटनगर किङ्ग्स

एनपीएलका लागि मुख्य प्रशिक्षकको टुङगो लगाउन बाँकी एक मात्र टोली विराटनर किंग्स हो। एनपीएलका लागि विराटनगरले मुम्बईमा अभ्यास गरिरहेको छ। विराटनगरले बलिङ र ब्याटिङ दुबैमा श्रीलंकाली प्रशिक्षक राखेर प्रशिक्षण गरिरहेको छ।

श्रीलंकाका धाम्मिका प्रसाद विराटनगर किंग्सको मुख्य प्रशिक्षकमा आउने सम्भावना बलियो छ। धामिकालाई ब्याटिङमा सामिराले प्रशिक्षण दिइरहेको छ। विराटनगरले यी दुई मध्ये एक जनालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिनेछ।

यसअघि विराटनगरले केभिन ओ ब्रायनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। तर योपटक विराटनगरले धामिका प्रसादलाई विराटनगरको जिम्मेवारी दिएको हो।

धामिकाले यसअघि नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्टका रुपमा काम गरिसकेका छन्। धम्मिकाले यसअघि नेपाल आएर एभरेष्ट प्रिमियर लिग खेलिसकेका छन्।

धम्मिकाले श्रीलंकाबाट २५ टेष्ट, २४ एकदिवसीय र एक टि–२० आई खेलेका छन्। विराटनगरले गत सिजन २ खेलमा जित र ५ खेलमा हार भोग्दै छैटौँ स्थानमा रहेर एनपीएल यात्रा टुंग्याएको थियो।

राजीव कुमार, पोखरा एभेन्जर्स

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा भारतीय राजीव कुमारलाई नै निरन्तरता दिएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को सफल टोली चेन्नई सुपर किंग्सको फिल्डिङ प्रशिक्षक रहिसकेका राजिव कुमार अघिल्लो सिजन पनि पोखरा कै मुख्य प्रशिक्षक बनेर आएका थिए।

उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा पोखराले गत सिजन सातौँ स्थानमा रहेर एनपीएल सकाएको थियो।

लिग चरणमा पोखराले ५ खेलमा हार र २ खेलमा मात्र जित निकालेको थियो।

टिनु योहान्नान, लुम्बिनी लायन्स

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय टिनु योहान्नान नियुक्त भएका छन्। ४६ वर्षीय टिनुसँग रणजी ट्रफीमा विभिन्न टोलीलाई प्रशिक्षण दिएको अनुभव छ। टिनुले सन् २०१७ मा केरलाको बलिङ प्रशिक्षक र अन्तरिम प्रशिक्षकको रुपमा समेत काम गरेका थिए।

सन२०२० मा केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्नुअघि केरला क्रिकेट एकेडेमीको हाइ पर्फरमेन्स सेन्टरमा निर्देशकको भूमिकामा थिए। भारतीय राष्ट्रिय टोलीका पुर्व फाष्ट बलरसमेत रहेका भारतका लागि तीन टेष्ट र एक दिवसीय खेलेका छन्। उनले दुवैमा समान ५ विकेट लिएका छन्। अब उनले पनि आफ्नो अनुभव लुम्बिनी लायन्समा लगाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad