खेल


रोहितको शतकले टारेन नेपालको हार, यूएई ५ विकेटले विजयी

रोहितको शतकले टारेन नेपालको हार, यूएई ५ विकेटले विजयी

यूएईविरुद्ध ब्याटिङ गर्दै रोहित (क्यान)


नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १८:२७, काठमाडौँ

कप्तान रोहित पौडेलको शतकका बाबजुद नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार व्यहोरेको छ। 

अघिल्लो खेलमा अमेरिकासँग हार भोगेको नेपालविरुद्ध बिहीबार यूएईले ५ विकेटको जित दर्ता गरेको हो। 

२३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३.३ ओभरमा २३७ रन बनाएको हो। यूएईलाई जित दिलाउन ओपनर आर्यांश शर्माले ९८ र एलिशान शराफुले ४५ रनको योगदान गरे। शोयब खान शून्य रनमा समेटिँदा रिटायर्ड हर्ट राहुल चोपडाले १५, मुहम्मद वसीमले २६ रनको योगदान गरे भने हर्षित कौशिकले १३ रन जोडे। नटआउट रहेका ध्रुव पराशरले १६ र जाहिद अलीले ६ रन बटुले। नेपाली बलरले १३ अतिरिक्त रन दिएका थिए। 

बलिङतर्फ सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए। अन्य ४ बलरले जादु छोड्न नसक्दा नेपाल पराजित भयो। ललित राजवंशी, सोमपाल कामी, आरिफ शेख र कुशल भुर्तेल विकेटविहीन रहे। 

दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। ५० ओभर खेलेको नेपालले सबै विकेट गुमाएर २३३ रन मात्र बनाएको थियो। 

खेलमा रोहित पौडेलले कप्तानी पारी खेले। १२६ बलमा सय रन पूरा गरेका उनले १०९ रन बनाए। कुल १२९ बलको सामना गरेका उनी जाहिद अलीको बलमा क्याचआउट भए। 

नेपालको सुरुवात त्यति उत्साहप्रद हुन सकेन। ओपनर कुशल भुर्तेल सात रनमै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे।

त्यसैगरी भीम सार्की पनि १३ बल खेलेर ३ रन बनाउँदै क्रिज छाड्दा आरिफ शेख २७ रनमा आउट भए। 

त्यसैगरी २८ बल खेलेर दीपेन्द्र सिंह ऐरीले २३ रन जोड्दा गुल्सन झाले रन बनाउन सकेनन्। उनी पहिलो बलमै जुनैद सिद्दिकीको बलमा क्याचआउट हुनपुगे। 

त्यसपछि आएका सोमपाल कामीले १३ बलमा ६ रन जोडे भने करण केसीले ८ बलमा १३ रन बनाए। नेपालले ७ अतिरिक्त रन उपहार दिएको थियो।

यूएईका लागि जुनैदले ३ विकेट झार्दा मुहम्मद रोहिद र हैदर अलीले समान १ विकेट लिए। यता जाहिद अलीले सर्वाधिक ४ विकेट आफ्नो नाममा गर्दा ध्रुव पराशरले विकेट लिन सकेनन्।

लिग २ को अंक तालिकामा २२ खेलमा १६ जित निकालेको अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ। यूएईले यो जितसँगै १८ खेलबाट ८ अंकसहित अन्तिममा रहँदा नेपाल १८ खेलमा ५ जितसँगै १२ अंकसहित अन्तिमबाट दोस्रोमा छ। 

दुबईमा नेपाल, अमेरिका र यूएईबीच लिग २ को खेल भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad