विराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइ-पर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्रराष्ट्रिय स्तरको सुविधा भएको अम्टेक्स आईसीडब्लुसी क्रिकेट इन्स्टिच्युटमा पठाएको छ।
मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ।
क्लबका अनुसार प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको छ।
मुम्बईको अम्टेक्स आईसीडब्लुसी क्रिकेट इन्स्टिच्युट अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षण कार्यक्रमका लागि परिचित छ। खेलाडीहरूलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्नेछन्। यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक कुराहरू बुझ्न मद्दत गर्नेछ।
टोलीले फ्लड-लाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ। यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्याटउने अपेक्षा गरिएको छ।
बिराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठूलो लगानीको रुपमा हेरेको छ। व्यवस्थापनको विश्वास छ कि यस्ता अवसरहरूले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमको प्रतिस्पर्धी क्षमता पनि बढाउनेछ र टोली अझ सक्षम र आत्मविश्वासी बनेर फर्किने र गौरवका साथ बिराटनगर किंग्सको प्रतिनिधित्व गर्नेछ।
Shares

प्रतिक्रिया