नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा इरसमसलाई भित्राएको हो।
उनी सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका आएका छन्। इरसमसले २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए। वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर हुनेक्रममा इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग २ का खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो।
त्यस्तै उनले सो वर्ष चार अर्धशतक पनि प्रहार गरेका थिए, जसमा वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए। इरसमसले वर्ष २०२४ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुल १८ विकेट लिएका थिए।
काठमान्डु गोर्खाजको टोलीसँग उनी यसअघि नै परिचित छन्। एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भूमिकामा सानदार प्रदर्शन गरेका थिए। उनले ७ खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिएका थिए।
‘गत सिजन इरसमसले काठमान्डु गोर्खाजबाट उत्कृष्ट खेलेका थिए, यो वर्ष उनले अझ राम्रो खेल्ने छ भन्ने विश्वास लिएका छौँ। उ राम्रो लिडर पनि हो, त्यसले पनि हाम्रो टिमलाई फाइदा पुगेको थियो। मैदान भित्र खेलाडीलाई उसले निकै एक्टिभ बनाएर राख्छ’ काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाहीले भने।
उनले थपे, ‘इरसमस एसोसिएट क्रिकेटको उत्कृष्ट अलराउन्डर र उत्कृष्ट फिल्डर हुन्, उनी जस्ता खेलाडीलाई राखेर टिम बनाउदा प्रभावकारी हुने अपेक्षा राखेको छु।’
३० वर्षे इरसमसले नामिबियाबाट ६३ खेलमा ३८.२१ को औषतमा २ शतक र १७ अर्धशतकका साथ २१७८ एकदिवसीय अन्तर्राष्ट्रिय रन र ७७ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ शतक र १३ अर्धशतकका साथ १२४ माथिको स्ट्राइक रेटमा १८३३ रन बनाइसकेका छन्। उनले पछिल्लो तीन सिजन गुजरात जायन्ट्सबाट यूएईको आईएल टी–२० पनि खेल्दै आएका छन् ।
काठमान्डु गोर्खाजले आउँदो सिजनको एनपीएलका लागि भित्राइएका उनी दोस्रो विदेशी खेलाडी हुन्। यसअघि नै दक्षिण अफ्रिकामा जन्मिएका र हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोसलाई लिइसकेको छ।
Shares

प्रतिक्रिया