वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतबा सुनुवाइ जारी छ। रिट निवेदकले बहस गरिरहँदा प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले सांसदहरू रिट निवेदन लिएर नआएको विषयमा प्रश्न सोधेका छन्।
'कतिजना सांसद रिट लिएर आउनुभएको छ?' राउतले सोधे।
रिट निवेदकले सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक भनेर बहर गरेपछि राउतले यस्तो सोधेका हुन्। संसद् विघटनविरुद्ध अहिलेसम्म एकजना पनि तत्कालीन सांसदले रिट निवेदन दिएका छैनन्।
अधिवक्ता विश्व ढुंगेलले बहस गरिरहेका बेला न्यायाधीश राउतले यस्तो प्रश्न सोधेका हुन्। बहसका क्रममा ढुंगेलले प्रधानमन्त्री सुशीला कार्की संसद् बाहिरको मान्छे भएको र उनलाई यो संसद् र संविधान मास्ने अधिकार नभएको बताएका थिए। उनले संविधानको मूल मर्ममाथि प्रहार भइरहेको भनेका थिए।
राउतले भदौ २३ र २४ गतेको अवस्थाबारे उल्लेख गर्दै भने, 'तपाईंले भनेको जस्तो संविधानलाई जीवित बनाउन सक्ने अवस्था त्यतिबेला थियो कि थिएन? शीतल निवासको अवस्था के थियो? सर्वोच्च अदालतको अवस्था के थियो?'
उनले अहिलेजस्तो सामान्य अवस्था नभएको उल्लेख गर्दै थप सोधे, 'सर्वोच्च अदालतको अवस्था के थियो? माननीयहरू कता हुनुहुन्थ्यो? त्यतिबेला प्रधानमन्त्रीको अवस्था कस्तो थियो? अहिले जस्तो सामान्य अवस्था थियो कि विषम परिस्थिति थियो? संविधानको रक्षा गर्न सक्ने अहिले जस्तो अवस्था थियो?'
Shares

प्रतिक्रिया