नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानले आगामी साफ च्याम्पियनसिपका लागि योजना बनाएर अगाडि बढ्ने बताएका छन्।
नेपालले आगामी अक्टोबर ३० देखि भारतमा त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता र एक मैत्रीपूर्ण फुटबल खेल्दै छ। सोही प्रतियोगिताका लागि आयोजना भएको बिदाइ कार्यक्रममा प्रशिक्षक न्यौपानले आफूलाई आगामी साफ च्याम्पियनसिपकै लागि जिम्मेवारी दिइएको र सोहीअनुरूप टोली योजना बनाएर अगाडि बढ्ने बताएका छन्।
भारतमा जित निकाल्ने लक्ष्य भए पनि दीर्घकालीन योजना साफकै लागि टोली तयार गर्नु नै रहेको प्रशिक्षक न्यौपानको भनाइ छ। प्रशिक्षक न्यौपानले घाइते भएका खेलाडीहरूले राम्रो मिहेनत गरेर टोलीमा पुनरागमन गर्नु सुखद पक्ष रहेको उल्लेख गरेका छन्। उनले भारतमा हुने खेलमा केही प्रयोगहरू पनि गरिने बताएका छन्।
पुरुष यू–२३ टोलीमा पनि आफूले केही प्रयोग गर्दै ठूलो टोलीविरुद्ध आक्रामक फुटबल खेलेको प्रशिक्षक न्यौपानेले उल्लेख गरेका छन्। नेपाली महिला फुटबलको लक्ष्य ठूलो नै रहेको र त्यहीअनुरूप उनीहरूलाई सेवा सुविधा पनि दिनुपर्ने उनी बताउँछन्।
ठूलो चुनौती लिएर नै आफूले महिला टोलीको जिम्मेवारी समालेको प्रशिक्षक न्यौपानेको भनाइ छ। त्यहीअनुरूप आफूले पनि धेरै काम गर्नु पर्नेमा उनी स्पष्ट छन्। पुरुष फुटबलरले भन्दा पनि महिलाले धेरै मिहनेत गरिरहेको प्रशिक्षक न्यौपानेले उल्लेख गरेका छन्। उनले तीन हप्ताको तयारीबाट सकेसम्म राम्रो टोली बनाएको विश्वास व्यक्त गरेका छन्।
भारत र इरानसँग खेल्ने आफ्नो रणनीतिमा खेलाडीले पनि बुझेकाले आफू सुखद नतिजाको आशामा रहेको प्रशिक्षक न्यौपाने बताउँछन्। सबैलाई दिएको जिम्मेवारी अनुरूप उनीहरूले पनि मिहनेत गरिररहेको उनको बुझाइ छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार रविभवनस्थित होटल क्राउन इम्पेरियलमा एक कार्यक्रमबीच राष्ट्रिय टोलीलाई बिदाइ गरेको थियो। एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, कार्यवाहक महासचिव दामोदर भट्टराई, उपाध्यक्ष दावा लामा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले टोलीलाई बिदाइ गरेका हुन्।
नेपाली टोलीकी कप्तान साबित्रा भण्डारीले टोली राम्रो बनेको र नतिजा पनि दिने प्रयास गर्ने बताएकी छन्। एएफसी एसियन कप क्वालिफायरमा खेलेको बलियो टोली जस्तै अहिलेको टोली रहेको उल्लेख गरेकी छन्। समर्थकले महिला फुटबलबाट आशा गरेको नतिजाअनुरूप प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरेकी छन्।
रूइरान र भारत बलियो टोली टोली रहे पनि आफ्नो स्तर मापन गर्ने यो नै बलियो माध्यम रहेको उनी बताउँछन्। आफू टिमको कप्तान रहे पनि टोलीका सबै खेलाडी नै कप्तान जस्तै भएर खेल्ने उनको विश्वास छ। उनले न्युजिल्यान्डमा आफ्नो व्यवसायिक फुटबलको यात्रा सुखद सुरुआत भएको बताएकी छन्। उनले त्यहाँ प्रिसिजनको प्रशिक्षण राम्रो र कठिन भएको पनि अनुभव व्यक्त गरिन्।
सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले अक्टोबर २४ मा इरानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अक्टोबर २७ मा घरेलु टोलीसँग खेल्ने तालिका छ। राउन्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने सेट–अप छ। प्रतियोगितापछि नेपालले पुनः भारतसँग सिक्किमसँग अक्टोबर ३० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। फिफा विन्डोभित्र नपरे पनि यो खेललाई अन्तर्राष्ट्रिय मान्यता दिइने बताइएको छ।
नेपाली टोलीकी सदस्य प्रीति राईले प्रशिक्षकले राखेको आशालाई दबाबभन्दा पनि जित्नुपर्छ भन्ने लक्ष्य रहेको बताएकी छन्। नेपाली महिला फुटबल धेरै प्रतिस्पर्धा रहेको उनको भनाइ छ। उनले हरेक प्रतियोगिता नेपाली टोलीका लागि अवसर रहेको उल्लेख गर्दै राम्रो नतिजा पनि दिने विश्वास व्यक्त गरेकी छन्। उनले चोटबाट रिकभर हुनु सहज नरहेको पनि उल्लेख गरेकी छन्। उनले जोर्डनमा व्यावसायिक फुटबलको सुरुआतमा केही असहज भएको अनुभव पनि सुनाइन्।
नेपाली टोली बुधबार बिहान भारत प्रस्थान गर्नेछ। सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपाली टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, निशा थोकर, समीक्षा घिमिरे, पुजा राना, सजनी थोकर, मनमाया दमाई, प्रतीक्षा चौधरी, हिराकुमारी भुजेल, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, दीपा शाही, सरु लिम्बू, सरस्वती हमाल, अनिता बस्नेत, सवीता रानामगर, मीना देउवा, रश्मिकुमारी घिसिङ, पूर्णिमा राई र रेखा पौडेल छन्।
Shares

प्रतिक्रिया