एएफसी एसियन कप छनोटमा लगातार तेस्रो हार भोगेसँगै नेपाल अघिल्लो चरण पुग्ने सम्भावना कठिन बनेको छ।
बिहीबार राति भएको खेलमा भियतनामसँग ३–१ ले हारेसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना थप कमजोर बनेको हो।
समूह चरणमा लगातार तेस्रो हार भएसँगै नेपालले अंकको खाता खोल्न सकेको छैन। तालिकामा अंकविहीन नेपाल समूह एफको पुछारमा छ।

नेपाल समूह चरणको पहिलो खेलमा लाओससँग २–१ र दोस्रो खेलमा मलेसियासँग २–० ले हारेको थियो।
समूह चरणको चौथो खेलमा नेपालले असोज २८ गते मंगलबार पुनः भियतनामसँग खेल्ने तालिका छ।
पहिलो हाफ १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा दुई गोल खाँदा एक गोल पनि फर्काउन सकेन।
नेपाल दोस्रो हाफ १० खेलाडीमा सीमित भएको थियो।
पहिलो हाफको इन्ज्युरी समयमा लाकेन लिम्बुले डी बक्सनजिकै भियतनामका न्युगेन हायलाई खराब ट्याकल गरेपछि रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए। लाकेन अब भियतनामसँगको दोस्रो खेलमा सहभागी हुन पाउने छैनन्।

पहिलो हाफको नवौँ मिनेटमा नै न्युगेन हाय लोङको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो।
तर खेलको १७औँ मिनेटमा सनिस श्रेष्ठको गोलमा नेपाल खेलमा फर्किएको थियो। सनिसले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका हुन्।
खेलको ६७औँ मिनेटमा फाम सुवान मानको गोलमा भियतनामले नेपालविरुद्ध २–१ को अग्रता बनायो। खेलको ७२औँ मिनेटमा न्युगेन भान भिलेको गोलमा भियतनामले नेपाललाई ३–१ ले हरायो।
Shares

प्रतिक्रिया