राजनीति


मुलुकमा थप मुठभेड हुन नदिन बाबुरामका चारबुँदे सुझाव

मुलुकमा थप मुठभेड हुन नदिन बाबुरामका चारबुँदे सुझाव

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ८:३०, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी आन्दोलनको गम्भीर आत्मसमीक्षा गर्दै मुलुकमा थप मुठभेड हुन नदिन आह्वान गरेका छन्।

त्यसका निम्ति उनले चार बुँदामा सुझाव पनि दिएका छन्। 

डा भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'ऐतिहासिक जेनजी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन, अग्रगामी रूपान्तरणसहितको दिगो शान्ति र समृद्धिको मार्गप्रशस्त गरौँ।'

यसका लागि उनले दिएका सुझाव यस्ता छन्:

-जेनजी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश वर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका तीन टाउकाको चरम सत्तालिप्सा, कुशासन र भ्रष्टाचारले युवाहरू र आम जनतामा ल्याएको आक्रोशको परिणाम हो भन्ने तथ्यलाई आत्मसात गरौँ।

-देशभित्र आम जनतामा असन्तुष्टि छाउँदा, राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा अकस्मात् जनविद्रोह विस्फोटित हुँदा कति भयावह स्थिति उत्पन्न हुँदोरहेछ र संवेदनशील भूराजनीति क्रियाशील हुँदोरहेछ भन्ने दरोसँग बुझौँ।

-लोकतन्त्रमा राजनीतिक दलहरू नै राज्यका प्रमुख खम्बा र सुशासन तथा समृद्धिका वाहक हुनाले पुराना दलहरूको रूपान्तरणसहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहत् ध्रुवीकरण/मोर्चाबन्दीमार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रूतमार्गमा डोर्‍याऊँ। 

-तत्काल विद्रोहका नायक जेनजी युवाहरूका जायज मागहरू (आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूमाथि तुरुन्त कारबाही, जेनजी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ वर्षबाट २१ वर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि) पूरा गरेर तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरौँ।

स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्तन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad