खेल


नेपाली महिला फुटबल टिमले भारतसहित ३ देशसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला फुटबल टिमले भारतसहित ३ देशसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालखबर
असोज ७, २०८२ मंगलबार १५:३४, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर र नोभेम्बरमा यी खेल  तय भएको जानकारी दिएको हो। 

नेपालले भारतसँग अक्टोबर २६ मा सिक्किममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि अर्को महिना तीन देश सम्मिलित मैत्रीपूर्ण सिरिज हुने भएको हो। 

इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज हुन लागेको हो। जसमा नेपालले नोभेम्बर २६ मा इन्डोनेसिया र डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्नेछ। इन्डोनेसिया र ताइपेइको खेल नोभेम्बर २९ मा हुने एन्फाले जनाएको छ। 

गत असारमा एन्फाका पदाधिकारीसँग प्रशिक्षकको विवाद भएपछि प्याट्रिक डे वाइेल्डले राजीनामा दिएका थिए। यस्तै त्यतिबेला कप्तानको विषयमा पनि विवाद भएको थियो। प्रशिक्षक वाइल्डले सावित्रा भण्डारी साम्बालाई प्रशिक्षक बनाउँदै त्यसअघिकी कप्तान एन्जिला तुम्वापो सुब्बालाई बेन्चमा सीमित गरेका थिए। 

तर एन्फाका सदस्य र कर्मचारीले भने त्यस विषयमा असहमति जनाउँदै साम्बालाई कप्तान दिन नहुने अडान कस्दै प्रशिक्षकलाई हटाउने धम्की दिएका थिए। 

नेपाली महिला टिममा पहिलो पटक प्रोलाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त भए पनि पहिलो भ्रमणमै राजीनामा दिन एन्फाले बाध्य पारेको थियो। एएफसी एसियन कप छनोटका लागि उज्बेकिस्तान पुगेको टोलीले त्यहीँ लफडा भएर फर्किएको थियो। 

टोली फर्किए पनि प्रशिक्षक वाइल्ड भने उतैबाट गएका थिए। एन्फाले उज्बेकिस्तानमा भएको विवादका विषयमा स्पष्टीकरण सोधेको थियो। त्यहाँ भएको वास्तविकता बारे जानकारी गराउँदै प्याट्रिकले इमेलबाटै राजीनामा पठाएका थिए। 

एन्फाले त्यसपछि साम्बामाथी पक्षपाती व्यवहार गरेको थियो। साम्बा न्यु जिल्यान्ड क्लबबाट अष्टेलियामा लिग खेल्न अनुबन्ध भएपछि एन्फाले सुरुमा शुभकामना दिए पनि लगतै हटाइएको थियो। 

त्यसपछि एन्फाप्रति असन्तुष्टि व्यक्त भएपछि एन्फाले आफ्नो फेसबुक पेजमा कमेन्ट गर्न नमिल्ने बनाएको थियो। फेसबुक निष्क्रिय बनाउँदै लगेको एन्फाले जेनजी आन्दोलनपछि भने कमेन्ट गर्न मिल्ने बनाएको छ। 

यस्तै फेसबुकमा साम्बाका तस्बिरहरू पनि सेयर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad