वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाइटेडले पहिलो जित दर्ता गर्दा पोखरा निन्जाजले भने लगातार दोस्रो हार व्यहोरेको छ।
शनिबार पोखरा रगंशालास्थित कभर्डहलमा भएको दिनको अन्तिम खेलमा मधेसले पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पाखा लगाएको हो।
मधेसले पोखरामाथि २५-१९, २५-१९ र २५-२३ को सहज जित हात पारेको हो।
दिनको दोस्रो खेलमा कर्णाली यशविसले लुम्बिनी लाभाजलाई ३-१ को सेटमा पाखा हराउँदै लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। प्रतिस्पर्धात्मक पहिलो सेट कर्णालीले लुम्बिनीलाई २३-२५ ले सुम्पियो। त्यसपछिका ३ सेटमा कर्णालीले २५-२१, २५-१७ र २५-२२ ले सहजै आफ्नो पक्षमा पार्यो।
शनिबारको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-० को सोझो सेटमा हरायो। ललितपुरले काठमाडौँलाई २५-१९, २५-२३ र २५-२१ ले सहजै पाखा लगायो।
आइतबारको दोस्रो खेलमा पोखरा निन्जाजले लुम्बिनी लाभाजविरुद्ध खेल्नेछ। सो खेल अपरान्ह ४ बजे सुरु हुनेछ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
सिंगल राउण्ड रोविनमा हुने लिगको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। उपाधि भिडन्त भदौ २८ गते हुनेछ।

प्रतिक्रिया