अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला विश्वकप २०२५ को पुरस्कार राशिमा वृद्धिको घोषणा गरेको छ। यसपटक प्रतियोगिताको कुल पुरस्कार राशि गत वर्षको भन्दा चार गुणा बढी हुनेछ।
आईसीसीका अध्यक्ष जय शाहले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत महिला क्रिकेटलाई प्रवर्द्धन गर्न, आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को कुल पुरस्कार राशि बढाइएको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘२०२५ को विश्वकपको कुल पुरस्कार राशि १३.३८ मिलियन डलर हुनेछ। २०२५ को विश्वकपका लागि घोषणा गरिएको पुरस्कार राशि २०२२ को महिला विश्वकप र २०२३ को पुरुष विश्वकपको पुरस्कार राशिभन्दा बढी छ।’
आईसीसीका अनुसार सन् २०२५ को महिला विश्वकपमा विजेता टोलीलाई ४.४८ मिलियन डलर र उपविजेता टोलीलाई २.२४ मिलियन डलर प्रदान गरिनेछ।
आईसीसीको वेबसाइटअनुसार, २०२२ मा न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकपको कुल पुरस्कार राशि ३.५ मिलियन डलर थियो।
महिला क्रिकेट विश्वकप २०२५ सेप्टेम्बर ३० मा सुरु हुनेछ। प्रतियोगितामा कुल ८ टोलीले भाग लिनेछन्। पहिलो खेल भारत र श्रीलंकाबीच आसामको गुवाहाटीमा हुनेछ।
Shares

प्रतिक्रिया