एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्यान्डका पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ।
गत संस्करण क्विनसलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी सान्त्रकूनको लक्ष्य यो संस्करणको उपाधि जित्ने रहेको छ।
‘अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि जित्न असफल भयौँ, त्यो चोट अझै ताजा नै छ। पहिलाको कमी कमजोरी सुधारी यो संस्करणको हामी उपाधि जित्ने प्रयत्न गर्ने छौँ’ सान्त्रकूनले भनिन्, ‘गत वर्ष नेपालमा मेरो पहिलो भ्रमण थियो, पहिलो भ्रमणमा नै मैले दर्शकको धेरै माया र साथ पाएँ। हामीले उपाधि जित्न नसक्दा दर्शकहरूले देखाउनु भएको मायाप्रति अन्याय भएको महसुस भएको छ र यो पाली उहाँहरूको माया प्रति न्याय दिनेमा हाम्रो टोली विश्वस्त छ।’
उनले थपिन्, ‘मलाई विश्वास गरी फेरि पनि नेपाल बोलाउनु भएकोमा ललितपुर क्विन्स परिवारप्रति आभार व्यक्त गर्दछु।’
पट्राथिप सान्त्रकूनलाई पुनः आबद्ध गर्न पाउँदा ललितपुर क्विन्स थप बलियो भएको क्लवको भनाई छ।
‘निकै व्यस्त तालिका बावजुत हाम्रो निमन्त्रणा स्वीकार गरी हाम्रो टोलीबाट यो संस्करण पनि एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउन आउन सहमत हुनु भएकोमा ललितपुर क्विन्स धन्यवाद व्यक्त गर्दछ’ क्लवले भनेको छ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ।
Shares

प्रतिक्रिया